– कृष्ण खनाल
बुटवल, मंसिर१६ – विपि चिन्तन प्रतिष्ठान रुपन्देहीको प्रथम बैठकले नेपाली कांग्रेस रुपन्देहीसंग समन्वय गरेर आगामी पुष १६ गते बिशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने निर्णय गरेको छ ।
मेलमिलाप दिवसका अवसरमा प्रस्तुत गरिने कार्यपत्र लेखन तथा कार्यक्रम तयारीका लागि विपि चिन्तन प्रतिष्ठानका सहअध्यक्ष प्रकाशचन्द्र ढकालको संयोजकत्वमा युवराज गिरी, कृष्णप्रसाद पौडेल, विष्णु प्रसाद वाग्ले, केशरमणि अर्याल र खिमानन्द भट्टराई सदस्य रहेको तयारी समिति पनि बैठकले गठन गरेको छ । यसैगरी बैठकले नेपाली कांग्रेसका नेताहरु रामकृष्ण ताम्राकार, बाबुराम राना, बालकृष्ण खँण, दूर्योधन चौधरी र डिल्लीरमण शर्मालाई सल्लाहाकारमा मनोनयन गरेको छ ।
बैठक विपि चिन्तन प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रोमणि प्रसाद पाठकको अध्यक्षतामा बसेको थियो । विपिको वौद्धिक, सैद्धान्तिक, राजनीतिक एवम् सामाजिक योगदानको चिन्तन मनन गरी समाजमा विचार प्रवाह गर्ने उद्धेश्यका साथ २०५५ साल भदौमा विपि चिन्तन प्रतिष्ठान रुपन्देहीको स्थापना भएको हो ।