अमेरिकाद्धारा नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन

 काठमाडौ – अमेरिकाले नेपालमा हुने संविधानसभा निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ ।


एमाले अध्यक्ष झलनाथ खनालसँग बुधबार खनाल निवास डल्लुमा भएको भेटमा नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले सहयोग उपलब्ध गराउने आश्वासन दिएका हुन् । अमेरिकी राजदूत बोडेले निर्वाचनका लागि चाहिने सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएपछि अध्यक्ष खनालले सहयोगको आश्वासनप्रति धन्यवाद दिएका थिए ।


भेटमा अमेरिकी राजदूत पिटरले नेपालको वर्तमान राजनीतिक अवस्था र निकासकाबारे चासो व्यक्त गरेको खनालका सहयोगी मिलन तुलाधरले बताए ।


अध्यक्ष खनालले सहमतीय सरकार गठन गरी आगामी वैशाखमा निर्वाचन गराउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको र यसबारे एमाओवादी लगायतका सत्तारुढ दलसँग छलफल भइरहेकाले केही समय लागेको राजदूतलाई जानकारी गराए ।


सहमतिबाट अघि बढ्नुको अर्को विकल्प नभएको बताउँदै अध्यक्ष खनालले राजनीतिक निकास दिन दलहरु सफल हुने विश्वास दिलाएको तुलाधरले उल्लेख गरे ।

 

– RSS