स्थानीय नेता हत्याको विरोधमा भएको कार्यक्रममा भाग लिन रुकुम आएका कांग्रेस नेता रामशरण महत चढेको जहाज एमाओवादी कार्यकर्ताले फर्काएका छन् ।
विरोधसभामा भाग लिन दलबलसहित आएको भन्दै स्थानीय एमाओवादी नेता गोपाल शर्मा नेतृत्वको समूहले जहाज नै फर्काएको हो । महत रुकुमको दुली गाउँ ईकाई सभापति कविराम खत्रीको हत्या विरोधमा भएको कार्यक्रममा भाग लिन आएका थिए ।
जहाजमा बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोखरेलसहित केही पत्रकार पनि थिए । दुईतर्फी टिकट गरेर आए पनि एमाओवादी कार्यकर्ताको धम्कीका कारण नेपाल एयरलाइन्सको जहाज फर्काइएको थियो ।
प्रशासनिक कामका लागि जिल्ला प्रशासन कार्यालय रुकुम आएका पोखरेललाई ‘कांग्रेसका नेतासँग किन आएको’ भन्दै फर्काए । प्रशासनिक कामका लागि आएको बताउँदा पनि विरोध भएपछि प्रजिअ पोखरेल मोटरबाटोबाट बुधबार नै नेपालगञ्ज फर्किए ।
महतले सभालाई सम्बोधन गर्दै एमाओवादी कार्यकर्ताको कृयाकलाप अधिनायकवादी, उद्दण्ड र निरंकुश रहेको बताए । आफ्ना कार्यकर्तालाई सहिद घोषणा नगरेसम्म विरोध कार्यक्रम जारी राख्ने उनले बताए ।