पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले आफ्नो पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी नेपालको महामन्त्री पदबाट राजीनामा दिएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीबाट फुटेर महेन्द्र यादव नेतृत्वमा बनेको पार्टीले स्थापनाको उद्देश्यअनुरुप काम नगरेकाले राजीनामा दिएको उनको भनाई छ ।
पार्टीमा जातीय बिभेद, नाताबाद, कृपावादका कारण पार्टीले स्थापनाका उद्देश्य अनुसार काम नगरेको उनको आरोप छ । उनले पार्टी अध्यक्ष यादवले अवसरहरु आफूमात्रै उपभोग गरेको आरोप लगाएका छन् ।
‘अध्यक्ष आफै हुने, मन्त्री पनि आफै हुने’, राजिनामा पत्रमा अध्यक्षलाई आरोप लगाउादै उनले भनेका छन्,’आफूले पाएकेा पदबाट व्यक्तिगत स्वार्थ पूरा गर्ने ।’ पार्टी अध्यक्षलाई सम्बोधन गर्दै उनले बुझाएको राजिनामा पत्रमा उनले भ्रष्टाचार र अपारदर्शीता बढेको प्रष्ट्याएका छन् ।
चौधरी साहीकालिन मन्त्रीपरिषद्का कृषि सहायक मन्त्रीसमेत हुन् । २०४८ मा कांग्रेसबाट राजनीतिक सुरु गरेका चौधरी २०६७ पुसमा तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन हुादा महामन्त्री बनेका थिए । पछिल्ला केही महिनादेखि उनले पार्टी छाड्ने घोषणा गर्दै आएका थिए ।
उनी बिजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ । यद्यपि उनले आफू अहिले स्वतन्त्र रहेको बताएका छन् ।