काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. रवीन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज दिउँसो बसेको मन्त्रिपरिषदको वैठकले पूर्व सचिव शाक्यलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातोकत्तर गरेका शाक्य २०५५ सालमा सेवा निवृत्त भएका थिए ।
बाबुराम सरकारले नियुक्त गरेका दिपेन्द्रबहादु क्षेत्रीले योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएपछि आयोग पदाधिकारीविहीन रहेको थियो । त्यसैगरी सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेको छ ।
कांग्रेस र एमालेले बाबुराम सरकारले गठन गरेको सुकुम्बासी आयोगका पदाधिकारी हटाउन माग गरिरहेको बेला आज बसेको मन्त्रिपरिषद बैठकले आजैका मितिदेखि लागू हुनेगरी केन्द्र तथा जिल्लाका सुकुम्वासी आयोगका पदाधिकारीहरुलाई हटाउने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषद बैठकले सप्तरीका पूर्व सभासद सदरुल मियाँ हकको हत्याको छानविन गर्न सर्वोच्चका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
साथै मियाँका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ ।
त्यसैगरी सरकारले सगरमाथा आरोहणमा गएका ज्येष्ठ नागरिक मीनबहादुर शेरचनलाई १० लाख दिने र उनले सगरमाथा चढ्दा तिनुपर्ने राजश्व छुट दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री पौडेलले जानकारी दिए ।
rss