प्रदूषण बढ्दा प्रकृति र मानवबीचको सम्बन्धमै ठूलो असर

काठमाडौं, । ग्रेगोरियन क्यालेण्डर अनुसार आज जुन ५, अर्थात् विश्व वातावरण दिवस । यस अवसरमा आज विश्वभरनै वातावरण संरक्षणमा चेतना फैलाउने विभिन्न कार्यक्रम गरिँदैछ । नेपालमा पनि वातावरण दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदैछ । आज विहानै राजधानीमा चेतनामुलक प्रभातफेरी निकालिएको छ ।


यसवर्ष विश्व वातावरण दिवसको सन्देश सोचेर खाऔं, खाना खेर नफालौ, वातावरण जोगाऔं भन्ने तय गरिएको छ । वातावरणीय समस्या विश्वको साझा चासोको विषय भएपनि ठूला र शक्तिसम्पन्न राष्ट्र र साना राष्ट्रबीच यसलाई हेर्ने दृष्टिकोणमा फरक छ । प्रदूषण बढ्दा प्रकृति र मानवबीचको सम्बन्धमै ठूलो असर परिरहेको छ ।


मानव जातिले वातावरण बिगार्दा पृथ्वीका अरु प्राणी मारमा परिरहेका छन् । मानव जातिले गरेको फोहोरका कारण पृथ्वीनै प्रदूषित बन्न थालेको छ । मानवका कारण प्रकृतिमा भैरहेको यो अनमेलता अन्त्य गर्नकै लागि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरण दिवस मनाउन थालिएको हो । जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण पृथ्वीको आयु घट्दै गएको वैज्ञानिकहरुले बताएका छन् ।


 हरित गृह प्रभावका कारण पृथ्वीमा तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण समयमा अनावृष्टि र अतिवृष्टि हुने, ऋतु परिवर्तनसँगै हुनपर्ने अरु परिवर्तन नहुने, वनस्पती र जीवजन्तु लोप हुने जस्ता परिणाम देखिन थालेका छन् । हिमालमा हिउँ नजम्ने, परेको हिउँ चाँडै पग्लने, हिमतालहरु फुट्ने, हिमाल नांगिने, वेमौसमी वर्षा, प्राकृतिक प्रकोप हुने क्रम पनि बढेको छ ।


अम्ल वर्षा र विश्वव्यापी तापक्रम वृद्धि आज सबैको साझा चासो बन्दै गएको छ । यिनै कारणले नयाँ नयाँ रोगको प्रकोप पनि देखिन थालेको बताइन्छ । यिनै कारणले चिन्तित विश्वभरका मानव समुदायले आज एक पटक फेरि साझा चासो र चिन्ता व्यक्त गर्दै यो दिवस मनाउन लागेका हुन् ।


एजेन्सी