एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको हेलिकप्टर मोह, छोटो दुरीको लागि पनि हेलिकप्टर प्रयोग

जनक नेपाल

 

नेपालगन्ज  – नेकपा-माओवादीसहितका असन्तुष्ट दलहरुको बन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेपालगन्ज नगरपालिकासँग जोडिएको परस्पुर गाउँ जान पनि हेलिकप्टर प्रयोग गर्नुपरेको छ ।


बॉकेको राप्तीपारी नरैनापुरमा आमसभालाई सम्बोधन गर्न आइतवार बिहान यति एअरबाट नेपालगन्ज विमानस्थल ओर्लेका थिए । हुम्लामा रहेको फिस्टेल एअरको हेलिकप्टर मौसमी प्रतिकुलताले ढिलो भएपछि एमाओवादी अध्यक्ष दाहालले दुई घण्टा बिमानस्थलमै बिताउनुपर्‍यो । उनको नगरसँग जोडिएको परस्पुर गाउँमा कांग्रेस कार्यकर्ता सन्तोष बर्मासहितलाई पार्टी प्रवेश गराउने कार्यक्रम थियो ।


बॉके प्रहरीले स्कटिङ गरेर कार्यक्रमस्थल पुर्‍याउने आग्रह समेत गरेको थियो । तर, नेपालगन्जका मुख्य चोक धम्बोझीमा बन्दकर्ताको जमघट रहेको थाहा पाएपछि एमाओवादी अध्यक्ष दाहालले गाडी चढेर परस्पुर जान नचाहेका हुन् । दाहाल लगायतका एमाओवादी नेताहरुले चाहेको भए दुई घण्टा विमानस्थलमा पर्खिनुको सट्टा परस्पुर गाउँको कार्यक्रम सकेर नरैनापुर जानसक्ने अवस्था रहेको स्रोतले बतायो ।