काठमाडौं । आगामी मंसिरमा गरिने संविधानसभा चुनावका लागि स्विस सरकारले नेपाललाई झण्डै ९० करोड रुपैयाँ बराबर नगद अनुदान सहयोग गर्ने भएको छ । नेपालको शान्ति स्थापनामा सहयोग पुर्याउन स्थापना गरिएको शान्ति कोषका कार्यक्रम अगाडि बढाउन स्विजरल्याण्डले ९० लाख स्विस फ्रेन्क अनुदान सहयोग गर्न लागेको हो ।
सोमबार एक कार्यक्रमबीच सहयोग सम्बन्धी समझदारी भएको हो । अर्थमन्त्री शंकरप्रसाद कोइराला र शान्तिकोषमा सहयोग पुर्याउँदै आएका विभिन्न मुलुकका नेपालका लागि राजदूत र प्रतिनिधिहरुको उपस्थितिमा समझदारी भएको हो ।
समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनि र स्विस सरकारका तर्फबाट नेपालका लागि स्विजरल्याण्डका राजदूत थोमस ग्यासले हस्ताक्षर गरेका हुन् ।
नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मुलुकका राजदूतहरुले चुनाव घोषणाको स्वागत गर्दै समयमा प्रजातान्त्रिक किसिमले स्वच्छ रुपमा चुनाव हुनेमा आशावादी रहेको बताएका थिए ।



