
विकिरणयुक्त लामखुट्टेहरुबाट निकालिएका कारक परजीविलाई सुईमार्फत मानिसहरुमा प्रतिस्थापन गर्दा तिनीहरुमा मलेरियाविरुद्ध प्रतिरोध क्षमताको विकास भएको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन्।
मलेरिया विरुद्बको भ्याक्सिनको विकासमा लागेका ती अनुसन्धानकर्ताहरुका अनुसार ठूलो मात्रामा दिईएको भ्याक्सिनले परीक्षणमा संलग्न १५ मध्ये १२ जनालाई मलेरियाबाट सुरक्षित बनाएको पाइएको थियो।
यस अनुसन्धानको तरीका अलि अनौठो छ। किनकि यसमा जीवित तर कमजोर मलेरियाका कारक परजीविलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन सुईद्बारा सीधै मानिसमा हालिन्छ।
यो अनुसन्धान साईन्स नामक जर्नलमा छापिएको छ।
प्रकाशित अनुसन्धानका मुख्य लेखक अमेरिकाको म्यारील्याण्डको राष्ट्रिय स्वास्थ संस्था स्थित भ्याक्सिन अनुसन्धान केन्द्रका डा रोबर्ट सेडरले यो नतिजाले आफुहरु निकै उत्साहित भएको बताएका छन्।