संविधानसभाको दोस्रो निर्वाचनमा अपेक्षाकृत उपलब्धी हासिल गर्न नसकेका मधेसी दलका नेताहरुले गणितीय खेलबाट मधेसको मुद्दालाई सम्बोधन नगरी संविधान बनाउन खोजिए सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।
मधेसी पत्रकार संघद्वारा शनिबार राजधानीमा आयोजित दोस्रो संविधानसभा र मधेसका मुद्दा विषयक अन्तर्क्रियामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानसभामा गणितको खेलबाट मधेसको मुद्दा स्थापित हुन नसक्ने बताए । ‘त्यो हिजोको संविधानसभामा पनि सम्भावना थिएन, आजपनि छैन,’ उनले भने ‘संघर्षले मात्रै मधेसको मुद्दा स्थापित हुनसक्छ ।’
परिवर्तनका लागि संघर्ष गर्ने र परिवर्तन चाहनेहरु चुनावी परिणामबाट पछि परेको यथार्थ भएको भन्दै उनले लडाइँ, र संघर्षमा कहिले काँही हुने तलमाथिले निराश हुन नहुने उल्लेख गरे । उनले भने ‘न संघर्ष छोडेका छौं, न संघर्षको क्षेत्र, न मुद्दा ।’ मधेसी भएकै कारण मात्र मधेसी जनताबाट भोटको अपेक्षा गर्नु ठीक नभएको भन्दै उनले जनतालाई मुद्दा बुझाउन नसक्नु र दलहरुबीच चुनावी तालमेल हुननसक्नु गल्ती भएको बताए । उनले निर्वाचनको दिन र त्यसपछिको प्रक्रियामा देखिएको विभिन्न त्रुटीले निर्वाचनमा धाँधलीको कुरालाई अस्विकार गर्न नसकिने बताए ।
कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुसंग सडक संघर्षको ‘प्लेटर्फम’ सुरक्षित भएको बताए । संघीयता पक्षधरहरुले संविधानसभामाथि दवाब बनाइराख्नुपर्ने उनको कथन थियो । संविधानसभामा केही सिट घट्दैमा चिन्तित हुन नहुने भन्दै उनले भने ‘चुनाव हार्नु, लक्ष्य हार्नु होइन, मिसन हारेको छैन ।’
उनले अस्वभाविक परिणाम र चुनावपछि मतपेटिका राजनीतिक दलको रोहवरमा नराखी घण्टौं वा रातभरि सुरक्षा निकायले राख्नुले शंका उत्पन्न हुनु स्वभाविक भएको बताए । शंकाको निवारण निष्पक्ष छानविन गराई सरकार र निर्वाचन आयोगले गर्नुपर्ने उनको भनाई थियो । ‘निर्वाचनमा धाँधली भयो भन्नलाई प्रमाण त केही छैन तर प्रक्रियाले धेरै शंका उब्जाएको छ,’ उनले भने ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले आगामी दिनमा सदनभन्दा पनि सडक संघर्षलाई रोज्नुपर्ने बताए । उनले मुद्दा कहिल्यै मर्न नसक्ने भन्दै मुद्दालाई हार्न नदिन सबै सजग रहनुपर्ने बताए । संघका अध्यक्ष कुमार विवेकानन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार सिताराम अग्रहरी र राजनीतिकशास्त्रका प्रध्यापक विजयकान्त लाल कर्णले मधेसी दलले चुनावमा पराजय भोग्नुपरेको विभिन्न कारणहरुबारे विश्लेषण गरेका थिए ।
Source:Ekantipur