संविधानसभामा सहमतिका साथ अघि बढ्छौँ, संसदमा प्रतिपक्ष बस्छौँ:टोपबहादुर रायमाझी

एमाओवादीका नेता टोपबहादुर रायमाझीले आफ्नो पार्टी सरकारमा जाने भन्दा पनि प्रतिपक्षमा बस्ने बताएका छन् ।
‘हामीले अहिलेसम्म सरकारमा जाने कुरा सोचेका छैनौँ । प्रतिपक्षमा बस्छौँ,’ रिपोर्टर्स क्लवमा बुधबार रायमाझीले भने, ‘संविधानसभामा सहमतिका साथ अघि बढ्छौँ, संसदमा प्रतिपक्ष बस्छौँ ।’
रायमाझीले आफूहरुले उठाएको सहमतिमा संविधान जारी गर्ने गरी संवैधानिक ब्यवस्था र निर्वाचनमा भएको धाँधलीको छानबिनको विषयमा दलहरु सहमतिको नजिक रहेको भन्दै सहमतिपछि आफूहरुले निर्वाचन आयोगलाई समानुपातिकतर्फको नाम बुझाउने स्पष्ट पारे ।
एमाओवादीसहित पहिचान पक्षधरहरुको दुई तिहाई बहुमत हुँदा समेत पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको स्मरण गर्दै उनले अहिले कसैको पनि त्यस्तो स्थिति नरहेकाले संविधानसभाबाट संविधान जारी गर्नु ‘फलामको च्यूरा चपाउनु सरह’ हुने तर्क गरे ।
कांग्रेस नेता डा प्रकासशरण महतले दलहरु सहमतिको नजिक पुगेको भन्दै आगामी पुस १० गते भित्रमा सबै दलले समानुपातिक तर्फको नामावली निर्वाचन आयोगमा बुझाउने विश्वास ब्यक्त गरे ।
नेकपा एमालेका सचिव यूवराज ज्ञवालीले साझा नीति तथा कार्यक्रम, सरकार सञ्चालन र शक्ति बाँडफाटलाई प्याकेजमै सहमति गरेर धेरै भन्दा धेरै दल सहभागी सरकार बनाउनु पर्ने पक्षमा एमाले रहेको सुनाउँदै दलहरु नमिलेसम्म जनताको अपेक्षा पुरा हुन नसक्ने उल्लेख गरे ।
राप्रपा नेता पशुपति शमशेर राणाले कुनै दलको स्पष्ट बहुमत नभएकोले संविधान निर्माण प्रक्रियालाई सहज हुने गरी धेरै दलको सहमतिमा सरकार निर्माण गर्नु पर्नेमा जोड दिँदै दह्रो प्रतिपक्ष रहने गरी सरकार निर्माण गर्नु पर्ने बताए ।
 
Source:Ekantipur