१४ दिने आमरण अनशन तोडेका चिकित्सक के.सी हिँड्न नसक्ने स्थितिमा

काठमाडौं, माघ १४ – मेडिकल माफिया र राजनीतिक हस्तक्षेपविरुद्घ १४ दिने आमरण अनशन शुक्रबार तोडेका प्राध्यापक गोविन्द केसी त्रिवि शिक्षण अस्पतालको मेडिकल इन्टेन्सिभ केयर युनिट (एमआईसीयू) मा स्वास्थ्य लाभ लिइरहेका छन् ।
‘सरलाई कमजोरी धेरै छ, हिँड्दा खुट्टा गल्छ, काम्न थाल्छ,’ अस्पतालका डा. महेशराज सिग्देलले सोमबार भने, ‘उहाँ अलि बलियो भएपछि एमआईसीयूबाट बाहिर वार्डतिर सार्ने कुरा चलिरहेको छ ।’
उपचाररत चिकित्सकहरूका अनुसार डा. केसी पुनः दैनिक काममा र्फकन इच्छुक भए पनि केह दिन अझै अस्पतालमै उपचार गरिनेछ । उनलाई ‘म्याग्नेसियम र फस्फोरस सप्लिमेन्ट’ दिइराखिएको छ । ‘उहाँको घर नै अस्पताल हो, घरमा कोही छैनन्, त्यसैले पर्सी डिस्चार्ज गर्न सक्छौं । तर दुई दिन केही काम नगरेर घरमै बस्ने सर्तमा,’ डा. सिग्देलले भने, ‘उहाँ बिहान आठ बजे अस्पताल आएपछि १२ घन्टासम्म आफ्नो स्याहार नगरी पढाउने र बिरामी हेर्ने गर्नुहुन्छ, त्यसैले उहाँ पूर्ण स्वस्थ नभएसम्म अस्पतालमै राख्ने प्रयासमा छौं ।’ ekantipur