बढी पैसा आउने भएकाले अस्पताल र चिकित्सको मिलीमोतोमा मापदण्डभन्दा बढीको शल्यक्रिया, घरमा सुत्केरी हुने शून्य


 

बाँके, जेष्ठ १२ – सुरक्षित प्रसूतिका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल भर्ना गरिएकी मनिकापुर ८ की विमला भण्डारी सोमबार शल्यक्रियाबाट सुत्केरी भइन् । सोही दिन दाङकी सुन्दराकुमारी चौधरीको पनि सफल शल्यक्रिया भयो । कोहलपुरस्थित शिक्षण अस्पताल भर्ना गरिएकी बर्दिया धधवारकी हेमा चौधरीले पनि सोही प्रक्रियाबाट बच्चा जन्माइन् ।



गत जेठ ४ मा अञ्चल अस्पताल भर्ना भएका १६ मध्ये ४ महिला शल्यक्रियाबाट सुत्केरी भए । कोहलपुर, वेस्टर्न र शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका १० महिला सोही प्रक्रियाबाट सुत्केरी भए । प्रसूतिका लागि अस्पताल आएका ४ मध्ये १ महिलालाई शल्यक्रिया गर्नुपरेको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।



नेपालगन्ज र कोहलपुरस्थित ४ ठूलामध्ये १ सरकारी र ३ निजी अस्पतालमा प्रसूतिका लागि भर्ना भएकामध्ये २५ देखि ३० प्रतिशतलाई सुत्केरी गराउन शल्यक्रिया गरिएको जिल्लाका स्वास्थ्यका अधिकारीले जानकारी दिए । शल्यक्रियाबाट सुत्केरी गराएबापत जिल्ला जनस्वास्थ्यले अस्पताललाई ७ हजार रुपैयाँ सहयोग दिंदै आएको छ । सामान्यभन्दा बढी पैसा आउने भएकाले अस्पताल र चिकित्सले शल्यक्रिया बढाएको आरोप पनि लाग्दै आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुत्केरी गराउँदा ५ प्रतिशत केसमा शल्यक्रिया गर्नुपर्ने बताउँदै आएको छ । तर, नेपालगन्जमा उक्त मापदण्डभन्दा बढीको शल्यक्रिया हुने गरेको छ ।



‘५ प्रतिशतभन्दा कम शल्यक्रियाका केस भए भने अस्पतालको सेवामाथि शंका गरिन्छ, त्यसभन्दा बढी भए अनावश्यक अप्रेसन गरिएको अनुमान गरिन्छ,’ जिल्ला जनस्वास्थ्यका फोकल पर्सन वसन्त गैरेले भने, ‘यहाँका अस्पतालमा डब्लूएचओले तोकेको मापदण्डभन्दा धेरै बढी अप्रेसनका केस हुने गरेका छन् ।’



जिल्ला जनस्वास्थ्यका अनुसार ६ महिनामा कोहलपुर शिक्षण अस्पतालमा प्रसूतिका लागि आएका २ हजार १ सय ७७ मध्ये साढे ५ सयको शल्यक्रिया गरिएको थियो । यस्तै, शिक्षण अस्पताल नेपालगन्जमा १ हजार ३ सय ८१ मध्ये ४ सयको शल्यक्रिया गरियो । वेस्टर्न अस्पताल नेपालगन्जमा ३ सयमध्ये ७० महिलाको शल्यक्रिया भएको थियो । ६ महिनामा सबै अस्पतालमा गरी ३ हजार ९ सयमध्ये ९ सय ९४ महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।



अञ्चल अस्पतालमा पनि शल्यक्रियाका केस धेरै हुने गरेका छन् । गत वैशाखमा ३ सय ३४ मध्ये ६० को शल्यक्रिया गरियो । चैतमा ३ सय ५० मध्ये ६७ महिलालाई शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । सबैभन्दा बढी कोहलपुर शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको पाइएको छ ।



सुविधासम्पन्न र ठूला अस्पतालमा जटिल अवस्थाका सुत्केरी आउने गरेकाले बढी शल्यक्रिया गर्नुपरेको चिकित्सकहरू बताउँछन् । बाँकेबाहेक मध्य र सुदूरपश्चिमका जिल्लाबाट पनि बिरामी आउने भएकाले अन्तिम समयमा शल्यक्रिया गर्नुपर्ने उनीहरूले बताए । ‘सामान्य अवस्थामा प्रसूति केन्द्रमै सुत्केरी गराइन्छ, जटिल अवस्थामा मात्र अस्पताल ल्याइन्छ,’ भेरी अञ्चल अस्पताल प्रमुख डा. पीताम्बर सुवेदीले भने, ‘अन्य जिल्लाबाट पनि सुत्केरी हुन आउने भएकाले धेरै अप्रेसनका केस बढी देखिनु स्वाभाविक हो ।’



शल्यक्रियाबाट सुत्केरी गराइएका महिलामा घाउ पाक्ने, ढाड दुख्ने, चिरिएको ठाउँबाट रगत बग्ने, थकान महसुस हुने, शरीर कमजोरलगायत समस्या देखिने गरिएको छ । ‘शल्यक्रिया गरेको ठाउँको घाउ पाकेर समस्या भएको छ, बेलाबेलामा रगत पनि आउँछ,’ एक साताअघि शल्यक्रियाबाट सुत्केरी भएकी पत्नीको उपचारमा अञ्चल अस्पताल आएका बर्दिया मैनापोखरका सुनिल चौधरीले भने, ‘अप्रेसनपछि उनी कमजोर भएकी छन् ।’



प्रसूति विशेषज्ञ डा. कुमारसन शाहले शल्यक्रियाकै कारण त्यस्तो समस्या नआउने बताए । ‘सबैभन्दा महत्त्वपूर्ण सरसफाइ हो, सुत्केरी भएका महिलालाई भेट्न मानिसको भीड लाग्ने भएकाले संक्रमण देखिन्छ,’ उनले भने, ‘सरसफाइमा ध्यान दिने हो भने यस्तो समस्याबाट जोगिन सकिन्छ ।’ उनका अनसार जटिल अवस्थामा शल्यक्रिया गरिने भएकाले पनि सामान्यभन्दा बढी समस्या देखिन्छ ।



जिल्ला जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले सुत्केरीका क्रममा हुने धेरै अप्रेसनका घटना कम गर्न अस्पतालका चिकित्सकहरूसँग नियमित छलफल गरिरहेको बताए । ‘हामी डब्लूएचओले लिएको लक्ष्यमा पुग्न प्रयास गरिरहेका छौं,’ उनले भने । शारीरिक बनावट सानो हुने र सानै उमेरमा विवाह गर्ने महिलाले शिशु जन्माउन नसक्दा अप्रेसन बढेको चिकित्सक बताउँछन् । यस्तै, बच्चा नजन्मिँदै रगत बग्ने, गर्भमा बच्चा उल्टो बस्ने, टाउकोे ठूलो हुने, सुरुमा हातखुट्टा बाहिर निस्किने, सालले शिशुको घाँटी बेर्ने, जुम्ल्याहा शिशु हुनेलगायत जटिल अवस्थामा अप्रेसन गरी सुत्केरी गराउनुपर्ने उनीहरूको अनुभव छ । गत साउनयता बाँकेमा २० सुत्केरीको ज्यान गएको छ । सरसफाइको अभावमा संक्रमणका कारण उनीहरूको मृत्यु भएको चिकित्सकले बताए । मृत्यु भएका सबै महिला सुविधा सम्पन्न अस्पतालमा सुत्केरी भएका थिए ।



करोड लगानीमा प्रयोगशाला



पर्सा- एक करोडभन्दा बढी लगानीमा वीरगन्जमा मंगलम डाइग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । सेन्टरमा विज्ञ चिकित्सकका रूपमा एएन ठाकुर र पंकजबहादुर नेपालीले सेवा दिनेछन् ।



अत्याधुनिक प्रविधिसहितका स्वचालित उपकरण, वातानुकूलित र संक्रमणरहित कक्षमा परीक्षण सुविधा दिइने सेन्टरले जनाएको छ । ईएसआर, युरिन आरई, सिमेन एनालाइसिस, सबै किसिमका रगत बग्ने रोग, शरीरको कुनै पनि अंगमा जमेको पानीको जाँच पनि पूर्ण स्वचालित उपकरणबाट गरिने दाबी ठाकुरले गरे ।



घरमा हुने शून्य



प्रकाश बराल



बागलुङ



आमाको स्वास्थ्य सुधारका लागि यहाँका महिलाले घरायसी सुत्केरी शून्यमा झारेका छन् । अमलाचौर, बिहुँ र हरिचौरमा स्वास्थ्य संस्थामा मात्र सुत्केरी गराउन थालिएको हो । महिलाले कम्तीमा ४ पटक गर्भ परीक्षण गर्ने बानीको विकास गरेका छन् ।



दक्ष प्रसूतिकर्मीले सुत्केरी गराउँदा आमा र बच्चाको जीवन रक्षा हुने र यातायात खर्चसमेत पाइने भएपछि यो क्रम बढेको अमलाचौर स्वास्थ्यचौकीका प्रमुख कृष्णप्रसाद शर्माले बताए । ‘गर्भ परीक्षण गर्न आउनै पर्ने प्रावधान राखेर महिला र अभिभावकलाई प्रसूति सेवाबारे पनि जानकारी दिएका छौं,’ शर्माले भने, ‘गर्भदेखि २ वर्षको १ हजार दिनमा स्वस्थ रहेर पोषण खुवाउन सल्लाह दिने गरेका छौं ।’ सरकारद्वारा बागलुङमा सञ्चालित सुआहारा कार्यक्रमअन्तर्गत स्वास्थ्य स्वयंसेविकालाई हरेक घरको अवस्था मूल्यांकनको काम दिइएको उनले बताए ।



महिलालाई पोसिलो जाउलो बनाउने तालिम पनि दिन थालिएको छ । शर्माका अनुसार अमलाचौरमा चालू वर्ष १ सयभन्दा बढीले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । यस्तै, गाउँका धामीलाई तालिम दिएर बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन पनि लगाइएको छ । ४ सयभन्दा बढी धामीझाँक्रीलाई तालिम दिइसकिएको छ । जिल्लामा ४ सय ५० धामी रहेको अनुमान छ । केहीलाई तालिम दिन बाँकी रहेको सुआहारा परियोजनाका जिल्ला संयोजक पूर्ण पुरीले बताए ।



सन् २०१३ मा यस अभियानबाट १८ हजार २ गर्भवती महिला र उनीहरूका अभिभावकसमेत २३ हजार ३४ जनाले सेवा पाएको पुरीले बताए । गर्भवती अवस्थामा ‘जंक फुड’ नखान पनि सल्लाह दिइने गरेको छ । ‘नियमित स्वास्थ्य परीक्षण गर्नैपर्ने जानकारी पायौं,’ अमलाचौर ७ की मीना सुनारले भनिन्, ‘जंकफुड खाए दूध कम आउने र बच्चालाई पनि असर गर्ने रहेछ ।’ घरैमा अन्नको पोसिलो जाउलो बनाउन सिकेको उनले बताइन् ।



गर्भ रहेको दिनदेखि २ वर्ष टेक्दासम्मको अवधिलाई ‘सुनौला एक हजार दिन’ नामकरण गरेर तालिम दिइएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए । ‘हरेक दिन घरैमा बन्ने सागपात, ताजा अन्न, तरकारी, दूध र माछामासु खानै पर्ने भनेका छौं,’ श्रेष्ठले भने, ‘शिशुलाई दूध चुसाउने तरिका र मात्राबारे पनि सिकाएका छौं ।’ एक अध्ययन अनुसार १ हजार दिनमा शिशुको ८० प्रतिशतभन्दा धेरै मस्तिष्कको विकास हुने गरेको छ ।



 EKANTIPUR



प्रकाशित मिति: २०७१ जेष्ठ १२