नेदरल्यान्ड्सका राजा को समर्थन आफ्नै देशको टिमलाई , रानीको समर्थन भने अर्जेन्टिना

रियो दे जेनेरियो : कुनै पनि खेलकुद प्रतियोगितामा आफ्नो देशको टोलीलाई समर्थन गर्नु स्वाभाविक मानिन्छ। तर ब्राजिलमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राति हुने नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको सेमिफाइनल खेलमा नेदरल्यान्ड्सका राजा र रानीले समर्थन गर्ने टोली फरकफरक छन्।
नेदरल्यान्ड्सका राजा विलियम अलेक्जेन्डर स्वाभाविक रूपमा आफ्नो राष्ट्रले सेमिफाइनल जित्दै विश्वकप उपाधि चुमेको हेर्न चाहन्छन्। तर रानी म्याक्सिमा भने सेमिफाइनलमा अर्जेन्टिनाको समर्थनमा उभिएको समाचार सार्वजनिक भएपछि यो विषयले चर्चा पाएको छ। राजा नेदरल्यान्ड्स र रानी अर्जेन्टिनाका पक्षमा रहेको विषयलाई सामाजिक सञ्जालमा पनि रोचक तरिकाले प्रस्तुत गर्न थालिएको छ।
रानी म्याक्सिामाको जन्मभूमि अर्जेन्टिना भएकाले सेमिफाइनलमा उनले अर्जेन्टिनाको समर्थन गर्नु स्वाभाविक हो। कतिपयले नेदरल्यान्ड्सकी रानीले अर्जेन्टिनाको समर्थन गर्न नहुने तर्क गरिरहेका छन्। कतिपयले भने विवाह व्यक्तिगत मामिला भएकाले जन्मिएको देशको समर्थन गर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
विश्वकपमा समर्थनको विषयलाई लिएर राजा र रानीबीच मतभेद रहेको आशय झल्कने तस्बिरसमेत सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिएका छन्। समर्थकहरूले बनाएर पोस्ट गरेका यस्ता तस्बिरमध्ये एउटामा राजा र रानीलाई एउटै ओछ्यानमा देखाइएको छ। तर राजा रिसाएर एकातिर फर्किएका छन् भने रानी अर्कोतिर।
नेदरल्यान्ड्स सरकारको सूचना सेवाले भने राजारानी नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल हेर्न साओ पाउलो नजाने जानकारी दिएको छ। यसअघि विश्वकपको समूहगत चरणमा नेदरल्यान्ड्स र अस्ट्रेलियाबीच भएको खेल हेर्न राजारानी दुवै ब्राजिल पुगेका थिए। उक्त खेलमा नेदरल्यान्ड्स ३-२ गोलले विजयी भएको थियो। उक्त खेलमा रानी म्याक्सिमाले डच टोलीको समर्थनमा नारा लगाएकी थिइन् भने खेल जितेपछि उनले आफ्ना खेलाडीलाई बधाई पनि दिएकी थिइन्।
रानी म्याक्सिमा अर्जेन्टिनाको ब्युनस आयर्समा जन्मिएकी हुन्। उनको बाल्यकाल पनि त्यहीं बितेको थियो। उनका पिता सन् १९७६ देखि सन् १९८३ सम्म अर्जेन्टिनाका कृषिमन्त्री थिए। न्यु योर्कमा बैंकरका रूपमा कार्यरत रहँदा उनको भेट नेदरल्यान्ड्सका तत्कालीन युवराज अलेक्जेन्डरसँग भएको थियो।
राजा अलेक्जेन्डर र रानी म्याक्सिमाका तीन छोरी छन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वसदस्यसमेत रहेका राजा अलेक्जेन्डर खेलकुद र खेलाडीप्रति निकै सहानुभूति राख्छन्। अलेक्जेन्डर र म्याक्सिमाबीच सन् २००२ मा विवाह भएको थियो। -एजेन्सी