नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना मंगलबार बिहान ९ बजेपछि सुरु भएको छ ।
सोमबार बेलुकी १० बजे स्थगित भएको मतगणना मंगलबार बिहान ९ बजेपछि सुरु गरिएको एमालेको निर्वाचन आयोगले जनाएको छ । सोमबार बेलुकीसम्म मेचीदेखि नारायणीसम्मका अञ्चल, जनवर्गीय संगठन, मोर्चा तथा केन्द्रीय कमिटीको गणना सकिएको छ ।
मंगलबार बिहानदेखि गण्डकी, धौलागिरी, लुम्बिनी, राप्ती, भेरी, सेती, कर्णाली, महाकाली र प्रवासको मत गणना हुने निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म झण्डै १३ सय मत गणना भइसकेको छ भने करिब ८ सय मत गन्न बाँकी छ । मंगलबार बेलुकीसम्ममा अन्तिम परिणाम आइसक्ने नेताहरुले बताएका छन् ।
१२ सय ९० मत गणना हुँदा साँझ माधवकुमार नेपाल प्यानलले अग्रता लिएको छ । अध्यक्षका उम्मेदवार माधवकुमार नेपाल अर्का उम्मेदवार केपी ओलीभन्दा ४७ मतले अघि हुनुहन्छ । सोमबार साँझ पदाधिकारीको मत गणना रोकेर केन्द्रीय सदस्यहरुको मतगणना गरिएको थियो ।
पदाधिकारी सहित १ सय ५८ सदस्यका लागि ३ सय ३५ जना चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रतिस्पर्धामा माधवकुमार नेपाल र केपी शर्मा ओलीको अलग अलग प्यानल छ भने १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । २ हजार १ सय ७६ जना प्रतिनिधिमध्ये २ हजार १ सय ५२ जनाले मतदान गरेका थिए ।