डन दिनेश अधिकारी ‘चरी’को ‘क्रस फायरिङ’मा मृत्यु भएको प्रस्टिकरण गृहमन्त्री वामदेव गौतम

उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले डन दिनेश अधिकारी ‘चरी’को ‘क्रस फायरिङ’मा मृत्यु भएको प्रस्टिकरण दिएका छन् ।
संसदमा शुक्रबार जवाफ दिंदै गौतमले विभिन्न अपराधमा संलग्न अधिकारीलाई शंकास्पद अवस्थामा भेटेपछि सोधपुछ गर्नेक्रममा प्रहरीमाथि नै फायरिङ गरेपछि जवाफी कारबाहीमा मारिएको दाबी गरे ।
‘काठमाडौंबाट भीमढुंगा हुँदै धादिङ जाँदै गरेको सूचनाका आधारमा सो क्षेत्रमा टोली परिचालन गर्दा बा ४९ प ३११२ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेको अवस्थामा प्रहरीलाई शंका लागेर खोजतलास गर्दा,’ गृहमन्त्रीले सदनमा जवाफ दिए, ‘निजले प्रहरीतर्फ गोली प्रहार गरेकाले प्रहरीले जवाफी कारबाही गर्दा मृत्यु भएको हो ।’
गृहमन्त्री गौतमले अधिकारी २०६२ सालदेखि नै विभिन्न अपराधमा संलग्न रहेको र केही अभियोगमा सजायसमेत भुक्तान गरिसकेको जानकारी गराएका छन् ।
अधिकारीमाथि काठमाडौं जिल्ला अदालतमा हातहतियार खरखजाना मुद्दा, काठमाडौं जिल्ला अदालतमै सवारी अंगभंग मुद्दा विचाराधिन रहेको गृहमन्त्रीको भनाइ थियो ।
गम्भीर फौजदारी अभियोगमा मुद्दा विचाराधिन रहेको अवस्थामा अधिकारीमाथि राधाकृष्ण भण्डारीलाई २०७० पुस १४ गते काठमाडौंको वनस्थलीमा धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको अभियोग रहेको गृहमन्त्रीले बताए ।
हरिप्रसाद काफ्ले शर्मासँग ज्यान मार्ने धम्की दिएर रकम असुल गर्न खोजेको तथा अपहरण प्रयास गरेको, नवराज अधिकारीसँग रकम माग गरेको र अवैद्य हातहतियार भित्र्याएको भन्ने उजुरीको आधारमा प्रहरीले खोजी गरिरहेको अवस्थामा अधिकारीको मृत्यु भएको गृहमन्त्रीले बताए ।
गृहमन्त्री गौतमले अधिकारी प्रकरणबारे गृहमन्त्रालयले विस्तृत सूचना संकलन गर्ने काम गरिरहेकोसमेत जानकारी दिए । ‘सो प्राप्त भएपछि थप कारबाही गरिने’ गृहमन्त्रीले बताए ।
एमाले सभासद् पाण्डेको आपत्ति
गृहमन्त्रीको जवाफमा आपत्ति जनाउँदै धादिङका एमाले सभासद् राजेन्द्रप्रसाद पाण्डेले घटना नियोजित रहेको दाबी गर्दै त्यत्तिकै नसकिने चेतावनी दिए ।
सभामुखले बोल्ने अनुमति नदिए पनि गृहमन्त्रीले जवाफ दिएलगत्तै जुरुक्क उठेका पाण्डेले गृहमन्त्रीको जवाफले समाधान ननिस्कने बताए । ‘एउटा नागरिक मारिएको छ । गृहमन्त्रीले प्रहरीको रिपोर्ट यहाँ आएर प्रस्तुत गर्नुभएको छ,’ पाण्डेको चेतावनी थियो, ‘यो घटना यत्तिकै सकिनेवाला छैन ।’
पाण्डेले कुनै झडपमा अधिकारीको मृत्यु नभएको दाबी गरे । ‘यो कुनै झडपमा भएको घटना होइन,’ उनले भने, ‘प्रहरीले नियोजितरुपमा हत्या गरेर त्यहाँ लगेर फालिएको हो ।
source ,कान्तीपुर