भारतको मंगलयान उपग्रह सफलतापूर्वक मंगलग्रहमा स्थापित

भारतले हालै प्रक्षेपण गरेको मंगलयान सफलातापूर्वक मंगलग्रहको कक्षमा स्थापित भएको छ । भारतको इतिहासमा नै छलांग मार्ने गरी पहिलोपटक प्रक्षेपण गरिएको मंगलयान मंगलग्रहको बाहिरी कक्षमा प्रवेश गरेको भारतीय अन्तरिक्ष एजेन्सीले जनाएको छ ।
गत २४ सेप्टेम्बरमा प्रक्षेपण गरिएको मंगलयानको इन्जिन साढे २४ मिनेट लगाएर बन्द गराएपछि मंगल ग्रहको गुरुत्वआकर्षणले यानलाई आफ्नो बाहिरी कक्षमा लिएको हो । यसले अब मंगल ग्रहको बाहिरी सतहबाटै वायुमन्डलीय अध्ययन सुरु गर्ने बताइएको छ ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय वैज्ञानिकहरुलाई बधाई तथा धन्यवाद दिँदै पर्याप्त उपकरण र साधनको अभावमा पनि वैज्ञानिकहरुले गरेको प्रयास सफल भएकोमा कृतज्ञता व्यक्त गरेका छन् ।
यो काममा भारतले ४ सय ५० करोड रुपैयाँ खर्च गरेको छ । यो मंगल ग्रहमा यान पठाउन विश्वमा गरिएको खर्चहरुमध्ये अहिलेसम्मकै न्यून हो । मंगलग्रहमा सफलतापूर्वक आफ्नो यान पठाउने भारत चौथो राष्ट्र हो ।
यसअघि अमेरिका, युरोप र रुसले मात्रै यो सफलता हात पारेका छन् । तर, पहिलो प्रयासमै सफल हुने भने भारत पहिलो राष्ट्र हो । मंगल ग्रहमा हालसम्म पठाइएका ५१ ओटा अन्तरिक्ष मिसनहरुमध्ये २१ ओटा मात्रै सफल भएका छन् । (एजेन्सी)