गत वैशाख १२ गतेको भूकम्पदेखि एनसेलले दिँदै आएको सुविधालाई निरन्तरता दिएको छ।
आफ्ना ग्राहकहरुको आकस्मिक संचारमा सहयोग गर्न शनिबार पनि व्यालेन्स कम भएका ग्राहकलाई ब्यालेन्स र निःशूल्क एसएमएस सुविधा प्रदान गरेको एनसेलले जनाएको छ।
यस अन्तर्गत १० रुपैँया भन्दा कम व्यालेन्स भएका ग्राहकहरूलाई ३० रुपैँया ब्यालेन्स प्रदान गरिएको र यसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस र डेटा चलाउन सक्ने बताइएको छ ।
यसका साथै कम्पनीले ५० भन्दा कम एसएमएस बाँकि रहेका ग्राहकलाई शनिबार पनि निःशुल्क ५० एसएमएस गर्नसक्ने सुविधा दिने भएको छ। ग्राहकलाई ब्यालेन्स नभए पनि स्काईप र भाईबरमा भ्वाइस र टेक्स्ट गर्न सकिने सुविधा पनि एनसेलले प्रदान गरिरहेको छ।
त्यस्तै एनसेलले ग्राहकहरुको सहजताको लागि भनेर आज शनिबार सम्पूर्ण एनसेल सेन्टरहरू संचालनमा ल्याई नियमित ग्राहक सेवा पनि सूचारू गरेको छ।
नयाँ वानेश्वर, कलंकी, बनेपा र गोरखामा अस्थाई व्यवस्था गरेर र अन्य स्थानमा पहिलेकै स्वरूपमा सेन्टरहरू संचालनमा आएका छन्। यी सेन्टरहरुबाट ग्राहकले सहजरूपमा सिमकार्ड, रिचार्ज कार्ड लगायतका सेवा प्राप्त गर्नसक्ने जानकारी एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले दिएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा एनसेलले शनिवार बिहान करिब ९३ प्रतिशत साइट (मोवाईल टावर) मार्फत ग्राहकलाई नियमित तथा आकस्मिक संचार सेवा प्रदान गरिरहको छ। यसैबीच नेपाल टेलिकमले बिहीबार बेलुका १२ पछि निःशुल्क सेवा हटाएको छ। यद्यपी शून्य ब्यालेन्स भएका ग्राहकहरूले भने क्रेडिटमा कल गर्न सक्ने टेलिकमले जनाएको छ। सेतोपाटीमा समाचार छ ।