भूकम्पका कारण नेकपा (एमाले)को बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शङ्खपार्कस्थित हाल पासाङ ल्हामू स्मृति प्रतिष्ठानको कार्यालय रहेको भवनमा सर्ने भएको छ।
एमालेको आजको स्थायी कमिटीको बैठकले हाललाई भाडामा लिएर शङ्खपार्कका कार्यालय सार्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए।
प्रतिष्ठानका भाडा लगायतका विषयमा पनि छलफल भइरहेको उनले बताए। एमालेले २ वर्षका लागि सो प्रष्तिठान भाडामा लिन लागेको हो ।
एमालेको हालको कार्यालयको प्रवेशद्वार र पहिलो तला नै भत्किएको छ । हाल पार्टीका गतिविधि परिसरमा राखिएका त्रिपाल र प्रचार विभाग रहेको भवनबाट चल्दै आएको छ ।
पार्टीकै नाममा १० रोपनी जग्गा रहेको सो स्थलमा करिब रु एक करोड लागतमा विसं. २०५२ मा कार्यालय बनाइएको थियो । भूकम्प जानु अघि नै एमालेले पुरानो कार्यालय साँघुरो भएको ठानी नयाँ फराकिलो स्थानमा कार्यालय खोज्दै आएको थियो। सेतोपाटीमा समाचार छ ।