काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी भएपछि आवश्यक संशोधन गर्न सकिने बताएका छन् ।
पुष्पलालको ३७औं स्मृति दिवसको अवसरमा नेकपा एमालेले विहीबार कीर्तिपुरको पुष्पलाल प्रतिष्ठान गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक पार्टीले तयार पारेको १६ बुँदे सहमतिकै आधारमा संविधान जारी हुने बताएका हुन् ।
उनले १६ बुँदे सहमति संविधान निर्माणको महत्वपूर्ण दस्तावेज भएको दाबी गर्दै आवश्यकताअनुसार पछि संशोधन गर्न सकिने स्पस्ट पारे ।
अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गर्नु नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालप्रतिको सम्मान हुने पनि बताए ।
कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले परिवर्तनलाई संस्थागत गर्न एमाले र कांग्रेस एकजुट हुनुपर्ने बताए । उनले राष्ट्रियता र लोकतन्को संस्थागत विकासका लागि दुई दलबीच मिल्नुको विकल्प नभएको बताए ।
नेता नेपालले पुष्पलालको स्मृति दिवस औपचारिकतामा सीमित नगरी व्यवहारिक रुपमै उनले देखाएको मार्गदर्शन कार्यान्वयन गर्न आग्रह गरे । कार्यक्रमका सहभागीहरुले पुष्पलालको शालिकमा माल्यार्णण गरेका थिए । इमेजखबरमा समाचार छ ।