प्रमुख विपक्षी एमाओवादीद्धारा दोस्रो दिन पनि व्यवस्थापिका संसद बैठक बहिष्कार

काठमाडौं  – प्रमुख विपक्षी एमाओवादीले मंगलबार दोस्रो दिन पनि व्यवस्थापिका संसद बैठक बहिष्कार गरेको छ ।
सरकारले बजेटमा एकलौटी गरेको भन्दै एमाओवादी सभासदले बैठक बहिष्कार गरेका हुन् । त्यसअघि बोल्दै एमाओवादी सभासद् प्रभू साहले अहिलेकै अवस्थामा बजेटमाथिको छलफलमा बस्न नसकिने धारणा राखे । विगतमा गरेका प्रतिबद्धता, राहत र पुनर्निर्माणसम्बन्धि निर्णय विपरीत बजेट आएको छ, साहले भने, मन्त्रीमुखी भएको यो बजेटमा छलफल नै हुन सक्दैन ।
साहले बोलेलगत्तै एमाओवादी सभासद् बाहिरिएका थिए ।
सभामुख सुवासचन्द्र नेम्वाङले विपक्षी बिना बजेटमाथिको छलफल गर्न नसकिने भन्दै वार्तामा बस्न सरकार र एमाओवादीलाई ध्यानाकर्षण गराए ।
अर्को बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।
एमाओवादीले सोमबारको बैठकमा पनि बजेटप्रति असहमति राख्दै बहिष्कार गरेको थियो । सोमबार सत्तारुढ एमालेका सभासदहरुले पनि बजेटविरुद्ध नाराबाजी गरेका थिए । ईकन्तिपुरमा समाचार छ ।