नेपालगन्ज – संविधानमा हिन्दु राष्ट्र कायम गर्न नेपालगन्जका मुस्लिम समुदायले माग गरेका छन् । राष्ट्रवादी मुस्लिम मञ्च नेपालगन्जले शनिबार पत्रकार सम्मेलन गरेर दलहरुलाई यस्तो खबरदारी गरेको हो ।
धर्म निरपेक्षतापछि मुलुकका मुस्लिम समुदाय असुरक्षित रहेको भन्दै हिन्दु राष्ट्र कायम भएपछि मात्र शान्तिपुर्वक सबै धर्म समुदाय आपसमा मिलेर बस्न सकिने मञ्चले जनाएको छ । मञ्चका केन्द्रीय अध्यक्ष बाबु खाँ पठानले परम्परादेखि हिन्दु, मुस्लिम मिलेर बसेको मुलुकमा भाईचारा तोड्न षडयन्त्र पुर्वक धर्मनिरपेक्ष राष्ट्र बनाइएको जिकिर गरे ।
‘नेपाली मुस्लिम भएकोमा हामी भर्व गर्छौ । हाम्रो छुट्टै संस्कृति र पहिचान छ,’ उनले भने ‘हिन्दु राष्ट्र हुँदा जति शान्ति, सुरक्षाको अनुभुति गरेका थियौं, धर्म निरपेक्ष भएपछि हामी असुरक्षित भयौ ।’ बाँके जिल्लामा रहेका कुल मुस्लिम समुदायको जनसंख्याको करिव ८० प्रशित राष्ट्रवादी अर्थात हिन्दु राष्ट्रको पक्षमा रहेको अध्यक्ष पठानले बताए । ‘थोरै संख्याका मात्र धर्म निरपेक्षको पक्षमा छन् । अधिकांसले हिन्दु राष्ट्र नै ठिक भनिरहेका छन् ।’
२०६३ सालपछि अचानक मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोमा आपत्ति जनाउँदै उनले भने, ‘विश्वकै एक मात्र हिन्दु राष्ट्रको पहिचान समाप्त पार्न विदेशीको ईसारामा दलहरुले धर्म निरपेक्ष राष्ट्र बनाए । नयाँ संविधानमा अब हिन्दु राष्ट्र कायम गरियोस् । नत्र सडकमा आउन बाध्य हुन्छौ ।’
हिन्दु राष्ट्र भएपछि आफुहरु माथि बढ्दै गएको खतरा साम्य हुने यहाँका मुस्लिम अगुवाको बुझाई छ । मञ्चले हिन्दु राष्ट्रको पक्षमा गरिने आन्दोलनमा आफ्नो पनि पुर्ण रुपमा ऐक्यवद्धता रहने जनाएको छ । राष्ट्रवादी मुस्लिम मञ्च विशुद्ध स्वतन्त्र संस्था रहेको जिकिर गर्दै कुनैपनि दलसँग नजिक नरहेको पठानले प्रष्ट्याए । पत्रकार सम्मेलनमा २ दर्जन बढी मुस्लिम समुदाय सहभागी थिए । त्यसमध्ये करिव ५ जना मुस्लिम धर्मगुरु मौलानाहरुको समेत सहभागिता रहेको थियो । उपस्थित मौलानाहरुले पनि हिन्दु राष्ट्र बनाउँदा नै ठिक हुने प्रतिक्रिया दिए । नागरिकन्युजमा समाचार छ ।