नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज १०१ औं जन्मजयन्ती ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम गरी मनाइदै छ । क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए ।
उत्पीडन, कठोर यातना र अत्यन्त कठीन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरेका थिए ।
वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए ।
भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष उठबस थियो ।
सोसलिष्ट ईन्टरनेशनलका उपाध्यक्षसमेत भएका उनी सधै ग्रामीण अर्थतन्त्रका हिमायती र प्रजातान्त्रिक समाजवादका अभियन्ता थिए ।
राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बने ।
कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन बिताए ।
२०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गरेका आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रीय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।
पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।
संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याएका वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत भए ।
आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन ।
कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो । इमेजखबरमा समाचार छ ।