पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानकासाथ हिन्दू परम्पराअनुसार बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
उनका भतिजाद्वय अतुल कोइराला र सुधांशु कोइरालाले उनको पार्थिव शरीरमा दागबत्ती दिए ।
स्व. कोइरालाको सम्मानमा नेपाली सेनाको एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उनलाई १३ तोपको सलामी दिइएको थियो ।
यसअघि, उनको शवलाई दशरथ रंगशालाबाट विशेष किसिमले सजाइएको ट्रकमा राखेर आर्यघाट लगिएको थियो ।
world news
शवयात्रामा हजारौंको सहभागिता 

शवयात्रामा पार्टीका नेता-कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवं सर्वसाधारण गरी हजारौंको संख्यामा उपस्थिति थियो ।
यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।
यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए ।
कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा कांग्रेस केन्द्रीय सदस्यद्वय सशांक कोइराला र शेखर कोइराला, स्वकीयसचिव अतुल कोइराला, उनका भान्जा रमेश शर्मालगायत थिए ।
यसअघि, कोइरालाको शवयात्रा दशरथ रंगशालाबाट त्रिपुरेश्वर-वीरअस्पताल-भोटाहिटी-दरबारमार्ग-कमलपोखरी-ज्ञानेश्वर-रातोपुल-गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए पनि अन्तिममा त्रिपुरेश्वर-थापाथली-सिंहदरबार-पुतलीसडक-कमलपोखरी हुँदै उल्लेखित मार्गबाटै पशुपति पु-याइएको थियो ।
माघ २५ गते जिल्ला जिल्लामा अधिवेशनमा सक्रिय रहेका नेता-कार्यकर्ता राति १२ः५० मा सभापति कोइरालाको निधनको खबरले मर्माहत बनेर शवयात्रामा सहभागी हुन काठमाडौं आइपुगेको धादिङका नेता बद्री अर्यालले बताए ।
संविधानका निर्माता कोइरालाप्रति त्यतिबेला सच्चा श्रद्धाञ्जलि हुनेछ, जतिबेला असोज ३ गते उहाँको नेतृत्वको सरकार भएकाबेला जारी गरिएको संविधानको सफल कार्यान्वयन हुनेछ- उनले भने । रासस