काठमाडौं । बुटवलमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनपछि राष्ट्रिय जनमोर्चा (राजमो) फुटको संघारमा उभिएको भनी आएका समाचार तथा टिप्पणीहरु निराधार भएको उक्त पार्टीले बताएको छ । एमाओबादी अध्यक्ष प्रचन्डका छोरा प्रकाश दाहालको
एभरेष्टदैनिक डटकम लगायतका भ्रम समाचार प्रकासित गर्ने अन्लाईनमा प्रकासित समाचार प्रति एक प्रेस विज्ञप्ति जारी गरि राजमोले निराधार भएको बताएको छ ।
बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी राजमोका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विभिन्न तथ्यहरु प्रस्तुत गर्दै भनेकी छिन्, “राष्ट्रिय जनमोर्चा फुटको संघारमा उभिएको भन्ने प्रकारको समाचार वा टिप्पणी निराधार भएको कुरा प्रष्ट छ ।”
भ्रामक समाचार प्रकाशित-प्रसारित भएकोले त्यसलाई स्पष्ट गर्नकै लागि निकालिएको उक्त विज्ञप्तिमा भनिएको छ, “सञ्चारमाध्यमहरूले सन्तबहादुर नेपाली (झलक सिंह), कृष्ण पौडेल, कृष्ण अधिकारी, आनन्द शर्मा लगायतले भिन्नमत राखेकाले वा अल्पमतमा परेकाले जनमोर्चाको नेतृत्वमा नराखिएको भन्ने समाचार तथ्यको तोडमोड हो । सन्तबहादुर नेपालीले ७-८ महिनापहिलेदेखि नै किड्नी र आँखा समेतका समस्याले स्वास्थ्य बिग्रदै गएकाले जनमोर्चाको नेतृत्वमा नबस्ने प्रस्ताव राख्नु भएको थियो । त्यही पनि साथीहरूको अनुरोधमा उहाले राजमोको तेस्रो सम्मेलनसम्म नेतृत्वमा बसेर काम गर्न स्वीकार गर्नु भएको थियो । अहिले पनि जनमोर्चाका साथीहरूले उहालाई नेतृत्वमा बस्नका लागि धेरै अनुरोध गरेका थिए । तर उहाले आफ्नो स्वास्थ्यको कारणले कुनै पनि जिम्मेवार समितिमा बसेर काम गर्न नसक्ने बताएर नै नेतृत्वबाट हट्नु भएको हो ।”
विज्ञप्तिमा कृष्ण पौडेल, मीना पुन, आनन्द शर्मा र विमल पोख्रेल समेत कोही पनि राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको रूपमा नभई अतिथिको हैसियतले राष्ट्रिय सम्मेलनमा उपस्थित भएको उल्लेख छ । “त्यसैले सम्मेलनको कार्यक्रममा उहाहरूले कुनै छलफलमा भाग लिने वा मत प्रकट गर्ने समेत गर्नुभएको थिएन । त्यसैले उहाहरूको कुनै विषयमा भिन्नमत हुने वा अल्पमतमा पर्ने प्रश्न नै उठ्दैन थियो”, विज्ञप्तिमा स्पष्ट पारिएको छ । “मीना पुन र विमल पोख्रेल बेग्लाबेग्लै जनवर्गीय संगठनहरूको केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । कुनै एउटै व्यक्ति दुई मोर्चाको केन्द्रमा रहेर काम गर्न नमिल्ने प्रचलनअनुसार उहाहरूमध्ये कोही पनि राष्ट्रिय जनमोर्चाको केन्द्रमा निर्वाचित नहुनु स्वभाविक थियो”, विज्ञप्तिमा भनिएको छ, “केन्द्रीय समितिमा कतिपय नयाँ साथीहरूलाई स्थान दिन वा महिला, जनजाति, दलित जाति आदिको समावेशीका लागि संख्या बढाउन नेतृत्वमा भएका पहिलेका कैयौं साथीहरूले स्थान रिक्त गर्नु आवश्यक थियो । त्यस विषयमा छलफल हुँदा पहिले केन्द्रीय समितिमा भएका कृष्ण अधिकारी, शंकर बराल, वमबहादुर खत्री समेतले स्वतः नेतृत्वबाट हट्ने प्रस्ताव राख्नु भएको थियो । त्यसैले नयाँ केन्द्रीय समितिमा उहाहरू तीनै जना निर्वाचित हुनुभएन । तर केन्द्रीय नेतृत्वबाट हटे पनि नयाँ केन्द्रीय समितिले शंकर बराललाई धौलागिरी र गण्डकी क्षेत्रीय समन्वय समितिको र बमबहादुर खत्रीलाई राप्ती लुम्बिनीको अध्यक्षमा निर्वाचित गरेको छ । कृष्ण अधिकारी भने आफ्नो अन्य जिम्मेवारी वा कार्यव्यस्तताका कारणले राष्ट्रिय जनमोर्चाको कुनै जिम्मेवार समितिमा रहनु भएको छैन ।” विज्ञप्तिमा कृष्ण पौडेल पहिले पनि राजमोको कुनै पनि समितिमा नरहेको र अहिले पनि केन्द्रीय समिति वा राजमोको कुनै समितिमा नरहेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “त्यसैले माथि उल्लिखित विभिन्न साथीहरूबारे गरिएका टिकाटिप्पणीहरू असत्य भएको कुरा स्वतः प्रष्ट छ ।”
विज्ञप्तिमा राजमो जनवादी संगठन भएको हुनाले सम्मेलनमा बेग्लाबेग्लै मतहरू आउने, छलफल हुने, मतभेदका विषयमा सहमति हुन नसकेमा बहुमतका आधारमा निर्णयहरु गर्ने प्रचलन रहेको उल्लेख गर्दै त्यही नै जनवादी पद्धति भएको बताइएको छ । सम्मेलनमा सरकारमा जानु नै गलत हो भन्ने कुनै प्रस्ताव नआएको तर सरकारबाट हट्नु पर्छ भन्ने प्रस्ताव आएको बताउँदै त्यो विषयमा संस्थापनपक्षको मत सरकारमा रहेर संविधानका सकारात्मक पक्षहरू तथा राष्ट्रियता समेतका पक्षमा तथा विदेशी हस्तक्षेप र देशलाई विखण्डन गराउने प्रयत्नहरूका विरूद्ध संघर्ष गर्दै जानु पर्दछ भन्ने रहेको उल्लेख छ । सरकारबाट हट्नुपर्छ भन्ने प्रस्तावमा मतदान हुँदा प्रस्तावको पक्षमा १७ र सरकारबाट हट्नु हुन्न भन्ने पक्षमा २ सय ६३ मत आएको र एक मत तटस्थ रहेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विज्ञप्तिमा केन्द्रीय समिति र समितिका पदाधिकारीहरुको चयन पनि सर्वसम्मतिबाट भएको उल्लेख गरिएको छ ।
केही समाचार अन्य संचारमाध्यमहरुबाट
पट्यारलाग्दो: प्रधानमन्त्रीलाई स्वागत गर्न पर्खँदै सभामुख ओनसरी घर्ति, उपप्रधानमन्त्रीत्रय चित्रबहादुर केसी, सिपी मैनाली र विजयकुमार गच्छदार
अडान पनि दरो, हात पनि दरो: स्वागत गर्दै उपप्रधानमन्त्री चित्रबहादुर केसी