नेपाली काँग्रेसको १३ औं महाधिवेशन अर्न्तगत बन्दसत्र सुरु

नेपाली काँग्रेसको १३ औं महाधिवेशन अर्न्तगत बन्दसत्र सुरु भएको छ।
 
भुकुटीमण्डपमा सुरु भएको बन्दसत्रको पहिलो दिन तीन वटा दस्तावेज प्रस्तुत गरिएका छन्। कार्यवाहक सभापति रामचन्द्र पौडेलले तयार पारेको नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले तयार पारेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष चित्रलेखा यादवले तयार पारेको आर्थिक प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गरिएको हो।
 
सांगठनिक प्रतिवेदन महामन्त्री सिंहले प्रस्तुत गर्नुभएको छ भने कार्यवाहक सभापतिका तर्फबाट केन्द्रीय सदस्य महेश आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरे। नीति तथा कार्यक्रम र सांगठनिक/आर्थिक प्रतिवेदन पेश गरिएसँगै बन्दसत्र शनिबार विहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ।
 
पार्टीका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले दुई वटै प्रतिवेदन र नीति तथा कार्यक्रममाथि महाधिवेशन प्रतिनिधिहरुले एकै पटक सुझाव दिने व्यवस्था गरिएको बताए। उनका अनुसार, महाधिवेशनमा ३ हजार १ सय ८८ प्रतिनिधि सहभागी भएपनि नीति तथा कार्यक्रम र सांगठनिक/आर्थिक प्रतिवेदनमाथि समूहमा छलफल गरिने छैन। प्रचार विभाग प्रमुख डा. रिजालले काँग्रेसमा समूहमा छलफल गर्ने चलन नरहेको भन्दै महाधिवेशन प्रतिनिधिहरुले दिएका सुझावका आधारमा एउटा समिति बनाएर सबै दस्तावेज परिमार्जन गरिने बताए।
 
नीति तथा कार्यक्रम र सांगठनिक/आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरुले शनिबार आ आफ्ना धारणा राख्ने छन्। तीन वटा दस्तावेजमाथि शनिबार विहान ९ बजेदेखि १२ बजे र अपरान्ह २ बजेदेखि ६ बजेसम्म छलफलको समय तोकिएको छ। महाधिवेशन प्रतिनिधिहरुले राख्ने धारणालाई समेटेर शनिबार नै नीति तथा कार्यक्रम र सांगठनिक/आर्थिक प्रतिवेदन पारित गर्ने तालिका छ । सेतोपाटीमा समाचार छ ।