जिका भाइरसको संक्रमणले बालबालिकाको विकसित हुँदै गरेको मस्तिष्कको विशेष कोषिका नष्ट गर्ने अनुसन्धानले पुष्टी गरेको छ ।
दक्षिण अमेरिकी र क्यारेबियन देशमा महामारीका रुपमा फैलिएको जिका संक्रमणका कारण बालबालिकाको मस्तिष्कमा असामान्य असर पर्ने स्पष्ट भएको अनुसन्धानमा संलग्न अमेरिकी वैज्ञानिकले बताएका हुन् ।
सेल स्टिम सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा जिका भाइरसको संक्रमणका कारण बालकालिकाको मस्तिष्कको न्युरल प्रोजेनिटर सेलमा असर पर्ने र यसले मस्तिष्कमा असामान्य असर गर्ने उल्लेख छ ।
यसअघि जिकाका कारण मस्तिष्कमा असर पर्ने दाबी गरिए पनि कस्तो असर पर्छ भन्ने यकिन भएको थिएन । तर यो अनुसन्धानले जिका र मश्तिष्कमा पर्ने असरबारे महत्वपूर्ण जानकारी दिएको अनुसन्धानकर्ताले बताएका छन् ।
यसले जिका भाइरस र असामान्य आकारको मश्तिष्क बारेमा बुझ्न सहयोग गर्नेछ । तर यो नै अन्तिम र निर्णायक नतिजा मान्न भने नसकिने अमेरिकी अनुसन्धानकर्ताको भनाइ छ ।
फ्लोरिडाको एमोरी विश्वविद्यालयका प्राध्यापक जोन्स होपकिन्स नेतृत्वको टोलीले अनुसन्धान गरेको हो ।
जिका भाइरसका कारण बढी प्रभावित भएको ब्राजिलमा मश्तिष्कको आकार सानो भएका चार हजार ८ सयभन्दा धेरै बालबालिका जन्मिएका छन् । (एजेन्सी)