उत्तरी छिमेकी चीन पुगेका प्रधानमन्त्री ओली भेट्घाटमा व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली ७ दर्जनभन्दा बढी सदस्यको नेतृत्व गर्दै उत्तरी छिमेकी चीन पुगेका छन् ।
प्रधानमन्त्री ओली दक्षिणी छिमेकी भारतको भ्रमण गरेको ठीक एक महिनापछि आइतबार बिहान उत्तरी छिमेकी चीनको साताव्यापी भ्रमणमा निस्किएका हुन्।
प्रधानमन्त्री ओलीलाई सरकारका मन्त्री, सचिव र संवैधानिक निकायका प्रमुखहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरे । प्रधानमन्त्रीको भ्रमण टोलीमा उपप्रधानमन्त्री तथा स्थानीयविकास मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दिपक बोहोरा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी छन्।
प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्य र प्रमुख राजनीतिक सल्लाहकार विष्णु पौडेललाई पनि भ्रमण टोलीमा सामेल गराएका छन्।
मुख्यसचिव डा. सोमलाल सुवेदी, विभिन्न मन्त्रालयका सचिव, करिब एक दर्जन सांसद्सहितको सरकारी टोलीमा ५६ जना सहभागी छन्।
ती मध्ये कतिपय घुम्नका लागि चीन गएका हुन्। करिब तीन दर्जन व्यवसायीहरुको टोली भने आफ्नै खर्चमा चीन गएको छ।
व्यवसायिक उडान नै सुरू नगरेको निजी क्षेत्रको हिमालय एयरलाइन्सको विमान चार्टर गरेर जम्बो टोलीको नेतृत्व गरी चीन गएका प्रधानमन्त्री ओलीको भ्रमणका ठोस एजेन्डा भने छैनन्।
इन्धनमा भारतसँगको परनिर्भरता अन्त्यका लागि चीनसँग इन्धन खरिद्को सम्झौताको प्रचार गरिएपनि सम्झौता गर्दा भारत भड्किने र उसले इन्धनको कटौती गर्ने डरले इन्धन खरिद् सम्झौतालाई एजेण्डामा नै राखिएको छैन ।
ठोस एजेण्डा नभएपनि प्रधानमन्त्री ओलीले चिनीयाँ समकक्षी ली खछ्याङ, चिनीयाँ राष्ट्रपति सी जिनपिङसँग लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले हेनान प्रान्तको बोआओमा हुने एसियाको नयाँ भविष्य शीर्षकको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ।
प्रधानमन्त्री ओली चैत १४ गते स्वदेश फर्किन तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सेतोपाटीमा समाचार छ ।