विश्वको गौरव सगरमाथालाई चिनियाँ भूभागमा देखाएको भन्दै आरोही संघद्वारा आपत्ति

विश्वको गौरव सगरमाथालाई चिनियाँ भूभागमा देखाएको भन्दै सगरमाथा आरोही संघले आपत्ति जनाएको छ। 
 
चर्चित इन्टरनेट सर्च इन्जिन गुगलले आठाैं आश्चर्यभित्र पर्ने सगरमाथा नेपालको भुभागमा नपारी चीनको भूभागमा राखेर विश्व समुदायलाई नै सगरमाथाबारे गलत सूचना दिने प्रयास गरेकाले तत्काल सच्याउन संघले आग्रहसमेत गरेको छ। 
 
शुक्रबार संघले विज्ञप्ति जारी गरी भनेको छ- विश्वभर फैलाउने सूचनामा भ्रम र गलत जानकारी राखेर नेपालको पहिचानलाई कमजोर बनाउने प्रयास गरिएको छ, यो तुरुन्त सच्याइयोेस् ।
 world news
संघकी अध्यक्ष माया शेर्पा र कार्यवाहक महासचिव मदन चुडालले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, गुगलको यो हर्कतको नेपाली जनताले विरोध गरौं, नेपाल सरकारले पनि तुरुन्त यो विषयमा गुगललाई सच्याउन भनोस्, होइन भने नेपालको अस्तित्वको गलत सूचना प्रवाह गरेको मुद्दा अन्तर्राष्ट्रियकरण होस्।
 
संघले विज्ञप्ति मार्फत विश्वभरका सगरमाथा आरोहीलाई पनि यो गलत सूचनाको भरमा नपर्न आग्रह गर्दै सगरमाथा नेपालमा रहेका कारणले नेपालबाट मात्र सगरमाथा आरोहण गर्ने प्राधिकार मिल्छ भन्ने अपिल पनि गरेको छ। सेतोपाटीमा समाचार छ ।