प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना कुरामा नअल्झि देश विकासमा लाग्न आह्वान गरेका छन् ।
सहिद रत्नकुमार वान्तवाको ३७ औं स्मृति दिवस तथा एमाले महासचिव ईश्वर पोखरेलद्वारा लिखित पूर्वको रातो तारा पुस्तकको शनिबार पार्टी मूख्यालय धुम्बाराहीमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिसँगै विकास निर्माणलाई पनि प्राथमिकतामा राख्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
भौतिक संरचनाको पुनर्निमार्णमा सरकार लागेको भन्दै उनले विकासबाट मात्र मुलकलाई अगाडि बढाउन सकिने बताए । नेपालको कम्युनिष्ट आन्दोलनमा सहिद रत्नकुमार वान्तवाको भूमिका महत्वपूर्ण भएको भन्दै उनले वान्तवाजस्ता सहिदको राज्यले सम्मान गर्ने बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्न चुनौतीहरु देखिन थालेको भन्दै सबै दल एकजुट र गम्भीर भएर संविधान कार्यान्वयनतर्फ लाग्नुपर्ने बताए । उनीहरुले सहिदहरुको उचित सम्मान गर्न राज्यले नसकेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए ।
कार्यक्रममा सहिद रत्नकुमार वान्तवाको जीवनी र योगदानमा आधारित पुस्तकको समेत प्रधानमन्त्री ओली र वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीहरु खनाल र नेपालले संयुक्त रुपमा विमोचन गरेका थिए । इमेजखबरमा समाचार छ ।