प्रधानमन्त्री ओलीद्वारा प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिको औचित्य समाप्त नभएको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । कान्तिपुरमा समाचार छ ।  
केन्द्रीय कमिटीको बैठकपछि भएको पत्रकार सम्मेलनमा शनिबार एमाले अध्यक्षसमेत रहेका ओलीले १६ बुँदे सहमतिमा बाँकी रहेका बुँदा कार्यान्वयन हुँदै जाने बताए ।  १६ बुँदे समझदारी भएकाबेला अलिखित भद्र सहमति थियो, भद्र सहमति के भएको थियो भन्ने सबैलाई थाहै छ,  सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीमा आफूलाई समर्थन नगरेको उल्लेख गर्दै उनले भने,  अनुमान नभएको कुरा फ्याट्ट देखा पर्‍यो, अनुमान नगरेको अर्को परिस्थिति आएको हो । 
१६ बुँदे सहमति विस्तारै कार्यान्वयन हुँदै जाने प्रधानमन्त्रीको भनाइ थियो ।  औषधिमाजस्तो फेब्रुअरी यति तारिखमा डेट एक्स्पायर हुन्छ भन्ने होइन, कांग्रेस पनि आफू नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल चलिरहेको बताउँदै उनले भने,  कहिलेसम्म हुन्छ भन्दा पनि त्यसका लागि अरु थुप्रै कुरा हुनुपर्छ, समय लाग्छ । 
पार्टीको बैठक पुराण होइन
ओलीले पार्टीभित्र गुटबन्दी नभएको दाबी गर्दै आन्तरिक जीवनमा हुने छलफल र विवाद सामान्य भएको उल्लेख गरे ।
 एमालेमा गुटबन्दी छैन तर अखबारमा छ, म अखबारमा पढ्छु केन्द्रीय कमिटीमा त्यस्तो कुरा आएको थिएन, तर उधुमै भयो भनेको हुन्छ, सँगै रहेका वरिष्ठ नेता झलनाथ खनालतिर हेर्दै ओलीले भने,  उहाँले खुट्टाले हिड्नुपर्छ भन्नुभयो, खुट्टाले हिड्नुपर्दैन, टाउकाले टेक्नेपर्छ भनेर आउँछ । 
ओली बोल्दैगर्दा खनालले पत्रकारलाई थपे,  तपाईंको पार्टी संवाददाता (एमाले नेता)को संवाददाताको ग्रेड घटाइदिनुस् । 
ओलीले पार्टीको बैठक नीति निर्माणका लागि बहस गर्नकै लागि हुने बताए ।  केन्द्रीय कमिटीको बैठक पुराण सुन्न त होइन नि, पण्डितजीले कथावाचन गर्नुभयो, आखाले टुलुटुलु हेर्न होइन, छलफल गर्न बसेको हो पूण्य कमाउन होइन, उनले भने,  देशको अवस्थाको बारेमा छलफल गर्न, नीति बनाउन बैठक बसिन्छ । 
ओलीले थपे,  मैले पुराण सुनाएको होइन, स्वस्थानी कथा सुनाएको होइन, अध्यक्षप्रति निष्ठा राखेन भने खान लागेको भात बालुवा हुन्छ……. भन्ने त होइन ।  कान्तिपुरमा समाचार छ ।  
पुनर्निर्माणमा मलाई पनि चित्त बुझेको छैन
प्रधानमन्त्री ओलीले भूकम्पपीडितको पुनर्निर्माणप्रति आफूलाई पनि चित्त नबुझेको उल्लेख गरे ।  ८ लाख घर भत्किएको छ, ती घर निर्माण गर्नुपर्नेछ, जति भएको छ तर राम्रो भएको छ भन्दिन,  उनले भने,  छिटो बनाऔं, जनताप्रति जवाफदेहीको कुरा हो, मैले चित्त बुझाएर बस्नु हुँदैन । 
सरकार उदासिन छ भनेर विपक्षीले जनता भड्काउने काम गरेको ओलीको भनाइ थियो ।  कानुन निर्माणपछि प्राधिकरणमार्फत काम तीब्र भइरहेको छ भड्काउन त सजिलो छ, भन्न त सजिलो छ, उनले भने,  वर्षायामभन्दा अगाडि कमसेकम सार्वजनिक भवन बनाएरै भए पनि आकाशमुनीबाट छानामुनी ल्याउनैपर्छ । सोहीअनुसार मैले निर्देशन दिइसकेको छु । 
जनताको आवास बनाउन सहज होस् भन्ने उद्देश्यले सरकारले गैरसरकारी संस्थालाई पनि घर बनाउन इजाजत दिएको उल्लेख गर्दै तर निर्माण सामाग्री र जनशक्तिको अभाव रहेको बताए ।
प्रधानमन्त्री ओलीले विगतमा विपत्तिमा सुरक्षा निकायबाहेक राज्यस्तरमा कुनै पनि तयारी नहुँदा जनतालाई उद्धार र राहतमा कठीनाई भएकाले सरकारले नयाँ योजना ल्याउन लागेको जानकारी दिए ।  प्राकृतिक विपत्तिपछि तत्काल त्यसमा जनतालाई उद्धार गर्ने र राहत गर्ने काम प्रभावकारी गर्न सकोस् भनेर कुनै संयन्त्र, विधि र योजनाको सोचमा छु,  उनले भने,  केही समयपछि प्रस्तुृत गरेपछि थाहा पाइहाल्नुहुन्छ । 
प्रधानमन्त्रीले आफू नेतृत्वमा आएपछि पुनर्निर्माणको कामलाई तीब्र बनाएको बताए ।  म आउदा ६ महिना वितिसकेको थियो, कानुन निर्माण गर्न तीन महिना लाग्यो, धेरै व्यवधान आए, संसद चल्न नदिने, एजेन्डा राखेपछि अर्को नसुन्ने र अप्ठ्यारो पार्ने काम भयो,  उनले भने,  तर सशक्त अगाडि बढेपछिमात्रै पारित भयो । कान्तिपुरमा समाचार छ ।  
ग्यासको भाउ घट्यो भने कालाबजारीको हालत के हुन्छ ?
प्रधानमन्त्रीले बजारमा अझै खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको बताउँदै सरकारले केही दिनभित्रै विशेष अभियान चलाउने बताए ।
 कालोबजारी गर्नेले बेचेनन्, ग्यासको भाउ घट्यो भने उनीहरुले जम्मा गरेर कसलाई घाटा हुन्छ ?,  उनले भने,  कन्ट्रोल गर्ने अभियान चलाउँछौं, कालोबजारी सहज हुँदैन, जनजीवन सहज बनाउछौं । 
विदेशबाट आउने आपूर्ति भने पूर्णत: सहज रहेको प्रधानमन्त्रीले बताए ।
केन्द्रीय कमिटीको छैटौं बैठक १९ बुँदे निर्णय गर्दै सकिएको छ । कान्तिपुरमा समाचार छ ।