सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका घटना छानविनका लागि उजुरी लिन सुरु

 सत्य निरुपण तथा मेलमिलाप आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकार उल्लंघन सम्बन्धी घटना छानविनका लागि उजुरी लिन सुरु गरेको छ।
दुई वर्षे समयावधि रहेको आयोगले गठनको १४ महिनापछि आइतबार द्वन्द्वकालीन घटनाको छानविनका लागि उजुरी लिन सुरु गरेको हो। आयोगले उजुरी दिनका लागि असार २ गतेसम्म ६० दिनको समय तोकेको छ। आयोगले आफ्नो कार्यालय र शान्ति समितिका जिल्लास्थित कार्यालयबाट उजुरी लिन सुरु गरेको हो।
पीडित वा पीडितका तर्फबाट अन्य जोकोहीले हत्या, अपहरण, अङ्गभङ्ग, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पति लुटपाट, घरजग्गाबाट जर्बजस्ती निकाला र मानवीय कानून विपरितका अपराध सम्बन्धमा उजुरी दिन सक्ने आयोगले जनाएको छ। शान्ति समितिको काठमाडौ कार्यालयमा आइतबार तीन दर्जन उजुरी परेका छन्। तत्कालीन विद्रोही माओवादीले राजसंस्थाको समर्थक भएको अभियोगमा घर जग्गा कब्जा गरेर गाउँबाट लखेटेका सप्तरीका महामायाप्रसाद सिंहले अढाइ करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित काठमाडौमा उजुरी दर्ता गराएको बताए।
सत्य निरुपण तथा मेलमिलाप आयोगले जिल्लास्थित शान्ति समितिमा प्राप्त उजुरी एक साताभित्र आयोगमा संकलन गर्ने व्यवस्था मिलाइएको छ। उजुरीमाथि जेठ ५ गतेबाट प्रारम्भिक छानविन थाल्ने र भदौ महिनासम्म प्रारम्भिक छानविन पूरा गर्ने आयोगको कार्ययोजना छ। आयोगको दुई वर्षे म्याद आगामी माघ २६ गतेसम्म छ। आयोगले म्यादभित्रै सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ । सेतोपाटीमा समाचार छ ।