ठूला तीन दल नै भ्रष्टाचारको संरक्षक : वाणिज्य मन्त्री चन्द

भक्तपुर, वैशाख २५ – वाणिज्य मन्त्री जयन्त चन्दले देशका ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी भ्रष्टाचारको संरक्षक रहेको आरोप लगाउनु भएको छ । 
राप्रपाका केन्द्रीय सदस्य समेत रहेका चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी चाँगुनारायण नगरपालिका नगर भेलालाई संवोधन गर्दै भ्रष्टाचार र कालोबजारीलाई तीन दलले प्रोत्साहन दिएको आरोप लगाउनुभयो । उहाँले ठूला तीन दलले पुनर्निर्माणको नाममा भ्रष्टाचार र कालोबजारीलाई प्रोत्साहन दिएको दावी पनि गर्नुभयो । 
राप्रपा र राप्रपा नेपालको एकीकरण अन्तिम चरणमा पुगेको बताउदै उहाँले केही दिन भित्र पार्टी एकीकरणको सन्देश नेपाली नागरिकले पाउने बताउनुभयो ।
मन्त्री चन्दले राप्रपालाई पञ्च र बुढाहरुको पार्टी भन्ने आरोप लागे पनि अहिले सरकार र पार्टीको केन्द्रीय समितिमा युवाहरुको वर्चस्व रहेकाले नयाँ सोच र राष्ट्रिय हितका लागि काम गर्ने बताउनुभयो ।
पूर्वमन्त्री एवं राप्रपाका केन्द्रीय सदस्य रोशन कार्की, राप्रपा केन्द्रीय सदस्य रबिन्द्रप्रताप शाह, सुरेन्द्र केसीले लगायतले वर्षा अगाडि नै चमत्कारी ढंगबाट भूकम्प पीडितका लागि बासस्थानको व्यवस्था हुनेगरि काम गर्नुपर्ने बताउनुभयो ।