प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा स्थानीय निकायको चुनाव गराउन सरकार प्रतिवद्ध रहेकाले सोही ढंगले अघि बढ्न सांसदहरूलाई निर्देशन दिएका छन्।
सोमबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजारका टिकाटिप्पणीको पछि नलागी सरकारका घोषित कार्यक्रमलाई कार्यान्वयन गराउनेतर्फ लाग्न निर्देशन दिए। नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले म्यादी सरकार भनेर टिकाटिप्पणी भए पनि आगामी मंसिरमा स्थानीय निकाय र २०७४ सालको मंसिरमा प्रतिनिधिसभाको चुनाव गराउने दाबी गरे।
सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका जिम्मेवार नेताले मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न संवैधानिक अड्चन रहेको बताइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्ना सांसदलाई निर्वाचनका लागि तयार रहन निर्देशन दिएका हुन्। एमालेले सरकारका नीति तथा कार्यक्रममा समावेश भएका कुराहरूबारे सांसदहरुलाई जानकारी दिन संसदिय दलको बैठक गरेको हो।
बैठकमा उपाध्यक्ष भीम रावल, राष्टिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा लगायतले नीति तथा कार्यक्रमका बारेमा सांसदहरुलाई जानकारी दिनुभएको सांसद प्रकाश ज्वालाले बताए। संसदीय दलको बैठक तीन दिनसम्म चल्नेछ। सेतोपाटीमा समाचार छ ।