प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संकटमा छ भन्ने सत्य नभएको दाबी गरेका छन् ।
नेपालस्थित कुटनीतिक समूदायलाई काठमाडौंमा बुधबार ब्रिफिङ गर्दै प्रधानमन्त्रीले लोकतन्त्रमा सबै सरकार आवधिक हुने बताए ।
लोकतन्त्रमा सबै सरकार पिरियोडिक र टेम्पोररी हुन्छन्, सरकार संकटमा छ भन्ने सत्य नभएको जिकिर गर्दै उनले भने, संविधानअनुसार संसदको अवधि ०७४ माघ ७ सम्म छ, त्यतिन्जेल यही सरकार रहन्छ ।
सत्ता परिवर्तनमा कुटनीतिक चलखेल रहेको बताउँदै आएको सरकारले नेपालको आन्तरिक मामिलाबारे नेपालस्थित कुटनीतिक समूदायलाई जानकारी गराएका हुन् ।
प्रधानमन्त्रीअघि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भूकम्पपछिको पुनर्निर्माण, छिमेकीसँगका सम्झौतालगायतबारे ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्रीले १५ वर्षदेखि नेपालमा स्थानीय निर्वाचन नभएको उल्लेख गर्दै पुनर्निर्माण कार्य सजिलो होस् भनेर अन्तरिम स्थानीय निकायको चुनाव गर्न लागिएको बताए ।
प्रधानमन्त्रीले नेपाल सरकार प्रजातन्त्र, स्थिरता र मानवअधिकारमा प्रतिबद्ध रहेको उल्लेख गर्दै शंका नगर्न अन्तर्राष्ट्रिय समूदायलाई अपिल गरे ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्रमा विवादसँगै र समाधान पनि हुने उल्लेख गर्दै संविधानमा असन्तुष्ट दलका जायज माग पूरा गरिने बताए । त्यसैले हामी असन्तुष्ट राजनीतिक दलहरुलाई बोलाएर छलफल गरिरहेका छौं, संविधानको अधिनमा रहेर समाधान गर्ने उल्लेख गर्दै उनले भने, जायज माग वार्ताबाट समाधान गर्छौं ।
प्रधानमन्त्री ओलीले कुटनीतिक समूदायलाई नेपालको आन्तरिक मामिला र छिमेकीसँगको सम्बन्धबारे कुनै द्विविधा नराख्न अनुरोध गरे ।
प्रधानमन्त्रीको ब्रिफिङमा भारतीय राजदूत रञ्जीत रेलगायतको उपस्थिति थियो । कान्तिपुरमा समाचार छ ।