प्रधानमन्त्री ओलीद्वारा काठमाडौमा रिले अनसनमा बसिरहेको संघीय गठबन्धनलाई वार्तामा आउन पत्राचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिचान कायम हुने गरी प्रदेशहरुको सीमांकन गर्नुपर्ने माग सहित काठमाडौको खुलामञ्चमा रिले अनसनमा बसिरहेको संघीय गठबन्धनलाई वार्तामा आउन पत्राचार गरेका छन्।
प्रधानमन्त्री ओलीले सरकार सबै किसिमका समस्या वार्ताका माध्यमबाट सम्बोधनका लागि तयार रहेको भन्दै आइतबार संघीय गठबन्धनलाई वार्ताका लागि पत्राचार गरेक हुन्।
प्रधानमन्त्री ओलीले आइतबार दशरथ रंगशाला पुगेर नयाँ शक्ति  नेपाललाई शुभकामना दिने क्रममा आन्दोलनरत दलहरुलाई  वार्ताका लागि पत्राचार गरेको जानकारी दिए। उनले संविधानले कुनै पनि भूगोल, जाती, भाषा, क्षेत्र र धर्ममाथि विभेद नगरेको भन्दै कसैले विभेद र अन्याय महशुस गरेको भए वार्तामार्फत न्यायको सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
सरकारले यसअगाडि संयुक्त  लोकतान्त्रिक मधेशी मोर्चाको नाममा वार्ताका लागि पत्राचार गरेकामा मोर्चाले आफूले संघीय गठबन्धनका नाममा आन्दोलन गरिरहेको भन्दै गठबन्धनकै नाममा  पत्राचार गरिनुपर्ने बताउँदै आएको थियो। मोर्चासहितको गठबन्धनले प्रदेशको सीमांकन हेरफेरको माग गर्दै जेठ २५ गतेदेखि काठमाडौंको खुलामञ्चमा रिले अनसन गरिरहेको छ । सेतोपाटीमा समाचार छ ।