प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्शीरुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगरिएको स्पस्ट पारेका छन् ।
व्यवस्थापिका-संसदको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुनःनिर्माण प्राधिकरणले दलीय आस्थाका आधारमा काम नगरेको र हरेक काम पारदर्शीरुपमा अघि बढिरहेको बताए ।
प्रम ओलीले भने- प्राधिकरणको निर्णयबाट एक दललाई बढी फाइदा र अर्काे दललाई घाटा हुने कुनै काम कहीँ कतै भएको छैन, अगामी दिनमा पनि हुने छैन ।
अहिलेको प्राथमिकता भनेको खुला आकासमुनि रहेका जनतालाई आवास निर्माण गरी सुरक्षित बनाउनु नै हो- उनले भने ।
प्रम ओलीले पुनःनिर्माणका कामलाई तीव्रता दिने विषय छ भने कार्ययोजनालाई परिमार्जन गर्न सकिने चर्चा गर्दै अहिले सबैको चिन्ता भनेको छिटो घर निर्माण गर्न र पीडितलाई राहत प्रदान गर्नु नै हुनुपर्नेमा जोड दिए ।
विगतमा नाकाबन्दीका कारण इन्धन संकट हुँदा निर्माण समाग्री जुटाउन केही व्यवधान आइपरेको भएपनि अहिले पुनःनिर्माणको काम तीव्ररुपमा अधि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
अनुदान सहयोगलाई सहज र सरल तुल्याउन दातृ निकायसित परामर्श गरी निर्देशिका परिमार्जन गर्न सरकारलाई कुनै आपत्ति नभएको प्रम ओलीले बताए ।
उनले घर बनाउन एकमुष्ट रु एक लाख ५० हजार र दोस्रो किस्ताबापत रु ५० हजार उपलब्ध गराउन सकिने जानकारी दिए ।
प्रम ओलीले घर बनाउन प्रदान गरिएको रकम दुरुपयोग रोक्न, झुटो विवरण दिनेलाई कारबाही गर्न र बैंकको प्रक्रियालाई सरलीकृत बनाउन कार्यविधि परिमार्जन गरिने जानकारी दिए ।
जनतालाई छिटो र सहुलियत ढंगबाट अनुदान पुर्याउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको चर्चा गर्दै प्रम ओलीले भने- यस्तो बेलामा हामी सबैको एकताबद्ध प्रयास र समझदारीको आवश्यकता छ ।