प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला चले पनि सरकार परिवर्तन नहुने बरू केही समय पछि विस्तार हुने बताएका छन्।
प्रधानमन्त्री ओलीले बिहिवार भूमिसुधार तथा व्यवस्था मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा नेपाल हल्लैहल्लाको मुलुक भएका कारण सानो विषयलाई पनि ठूलो आकार दिने गरिएको भन्दै अहिलेको हल्ला अनुसार सरकार परिवर्तन नहुने बताए। सत्ता साझेदार नेकपा माओवादी केन्द्र नै सरकार परिवर्तनमा आतुर भएको खबर आइरहेका बेला प्रधानमन्त्री ओलीले त्यो खबर हल्ला मात्र भएको बताएका हुन्।
उनले आफू नेतृत्वको सरकार नफेरिने बरु चाँडै नै विस्तार हुने बताए। उनले विस्तारित सरकारमा कुन कुन दल हुन्छन् भन्ने चाहिं प्रष्ट पारेनन्।
प्रधानमन्त्री ओलीले जमिनको उपयोगदेखि सुकुम्वासी समस्या दीगोरुपमा समाधानका लागि शक्तिशाली आयोग गठन गर्न आवश्यक रहेको बताए। उनले सुकुम्वासीहरुलाई आवासको व्यवस्थापन गर्नेदेखि कृषियोग्य जमिनमा आधुनिक प्रविधि अपनाएर उत्पादकत्व बढाउने गरी काम गर्नका लागि शक्तिशाली आयोग आवश्यक रहेको बताए। उनले भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई काम गर्ने सिलसिलामा कुनै किसिमको अवरोध नआउने गरी दीर्घकालीन प्रकृतिको भू उपयोग नीति तर्जुमा गर्न निर्देशन पनि दिए। सेतोपाटीमा समाचार छ ।