सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा परेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। स्रोतका अनुसार प्रचण्डले ‘मैले (सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् ।
प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरलाई दिएका छन् । उनी पत्र बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् । संचारमाध्यममा समाचार छ ।
माओवादी केन्द्रले प्रधानमन्त्रीलाई बुझाएको पत्र यस्तो छः
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली,
प्रधानमन्त्री कार्यालय
सिंहदरबार काठमाडौं।
विषयः वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको बारे।
सम्माननीय प्रधानमन्त्री
उपरोक्त सम्बन्धमा २०७२ जेठ १६ गते प्रमुख राजनीतिक दलबीच सहमति भई २०७२ असोज ३ गते संविधान निर्माण र घोषणाको ऐतिहासिक उपलब्धी हासिल भयो। तत्पश्चात संविधानको सर्वस्वीकार्यता र कार्यान्वयन गर्ने, संक्रमणकालीन न्याय लगायत शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न, तराई मधेसमा भएको आन्दोलन एंव थारु लगायत सबै आदिवासी जनजातिका सरोकारहरु सम्बोधन गर्न, गतवर्षको गएको विनाशकारी भूकम्पबाट प्रभावित जनतालाई राहत तथा पुनर्निर्माणका लागि मुलुकमा राष्ट्रिय सहमति अत्यावश्यक रहेको हाम्रो पार्टीको धारणा रहँदै आएको छ।
गत २०७३ वैशाख २३ गते नेकपा एमाले र हाम्रो पार्टीबीच भएको नौ बुँदे सहमतिको मूल मर्म पनि त्यही थियो। तर वर्तमान सरकारको नेतृत्वले नौ बुँदे सहमति र तीन बुँदे भद्र सहमति कार्यान्वयन गर्न तयार नभएको हुँदा हाम्रो पार्टी अब यस सरकारका रही रहन राजनीतिक रुपले उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृत्वको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं। साथै हाम्रो पार्टीका सबै मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाइएको जानकारी गराउँदछौं। हाम्रो यो निर्णयबाट राष्ट्रिय सहमति निर्माणमा सहयोग पुग्ने हामीले विश्वास लिएका छौं।
वि.सं २०७३ अषाढ २८ गते ।
पुष्प कमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष ने.क.पा (माओवादी केन्द्र)