प्रधानमन्त्री
एवम् एमाले अध्यक्ष केपी शर्मा ओली संविधान कार्यान्वयन नगरी देशलाई दुर्घटनामा
लाने षडयन्त्रमा लागेकाले सरकार छोड्नु परेको नेकपा माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन्।
एमाले
नेतृत्वको सरकारबाट बाहिरिएपछि ओली विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस
लगायतका दलसँगको सहकार्यमा संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
शनिबार
कांग्रेस संसदीय दलको कार्यालयमा मुलुकमा उत्पन्न राजनीतिक परिस्थितीबारे कांग्रेस
सभापति शेरबहादुर देउवासहित कानुन व्यवसायीसँगको छलफलका क्रममा दाहालले
प्रधानमन्त्रीलाई षडयन्त्रमा लागेको आरोप लगाए।
एमाले
अध्यक्ष ओलीसँगको ९ महिना लामो सहयात्राका क्रममा के पाएँ भने, उहाँसँग
संविधानको कार्यान्वयन गरी मुलुकलाई अघि बढाउने कुनै चाहनै छैन, दाहालले
भने।
प्रधानमन्त्री
ओली संघीयता र गणतन्त्रको पक्षमा नभएको आरोप लगाउदै उनले भने, विगत सात, आठ
महिनादेखि उहाँको गणतन्त्र र संघीयता विरोधी शक्तिसँग साँठगाँठ र अत्यन्त ठूलो
माया प्रेम भएको पाएँ। राष्ट्रवादको नारामा देशलाई नै गम्भीर दुर्घटनामा पारी ठूलो
निरंकुशता जन्माउने खतरा देखियो।
दाहालले
यसबाट मुलुक र जनतालाई जोगाउन आफूले ओलीसँगको सहयात्रा तोड्नु परेको बताए।
सरकारको
विरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएपछि संविधानको प्रावधान देखाउदै नयाँ
सरकार गठन प्रक्रियामा अन्यौलता रहेको भन्दै छरिएको भ्रम सबै मिलेर चिर्नुपर्ने
बताए।
शान्ति
प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउने, संविधानको
सफल कार्यान्वयन गरी मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजानेदेखि भुकम्प र
नाकाबन्दीबाट पीडित जनताको राहतका तथा पुनस्थापनाका निम्ति प्रधानमन्त्री ओली
गम्भीर नभएको आरोप दाहालले लगाए।
संविधानको
व्यवस्था अनुसार स्थानीय निकायको निर्वाचनदेखि प्रदेश र संघीय संसदको निर्वाचन
गर्नुपर्ने भए पनि प्रधानमन्त्री ओलीले स्थानीय निकायको निर्वाचन सत्तासाझेदार
दलसँग कुनै परामर्श नगरी एकलौटी ढंगले गरेको आरोप पनि लगाए।
त्यसैगरी
दाहालले भारतीय राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाउने विषयमा पनि ओलीले
एकलौटी ढंगले निर्णय लिएको स्पष्टिकरण कानुन व्यवसायीसँगै छलफलमा सहभागी कांग्रेस
नेताहरु समक्ष दिएका थिए।
संसदीय
विशेष सुनुवाई समितिमा सुनुवाईका लागि संवैधानिक परिषद लगायतका निकायबाट भएका
सिफारिसमाथिको सुनुवाई प्रक्रियामा कांग्रेसभित्रैका सदस्यहरुमा एकरुपता नदेखिएको
भन्दै कांग्रेस सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।
संविधानविद
सूर्य ढुंगेल, बद्रीबहादुर कार्की, हरिहर
दाहाल, शेरबहादुर केसी, खम्बबहादुर
खाती, रमण श्रेष्ठ, लगायत
झण्डै २ दर्जन कानुन व्यवसायीले संविधानको धारा २९८ को उपधारा १३ बमोजिम
अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउन र सोही धाराको उपधारा २ र ३ बमोजिम
नयाँ सरकार बनाउन सक्ने राय दिएका थिए। सेतोपाटिमा खबर छ ।



