नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
व्यवस्थापिका संसद्ले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई वहुमतका आधारमा मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । दश वर्ष सशस्त्र युद्ध गरेको पार्टीका अध्यक्ष दाहाल सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र मधेशवादी दलहरुको सहयोगमा दोस्रोपटक प्रधानमन्त्री भएका हुन्।
व्यवस्थापिका संसद्मा बुधबार भएको निर्वाचनमा दाहालले ३ सय ६३ मत ल्याए। संसद् बैठकमा बुधबार ५ सय ७३ जना सांसद् उपस्थित भएकामा ३ सय ६३ जनाले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा भोट खसाले । २ सय १० जना सांसद्ले भने प्रस्तावको विपक्षमा मतदान गरे। सभामुख ओनसरी घर्तीले ३ सय ६३ मत आवश्यक वहुमत भएका कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्।
सभामुख घर्तीले निर्वाचित भएको घोषणा गर्नासाथ सबैभन्दा पहिले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले दाहाललाई बधाइ दिए। त्यसलगत्तै माओवादी केन्द्रका सांसद्हरुबीच खादा लगाइदिन प्रतिस्पर्धा चल्यो । पक्ष र विपक्षमा भोट हालेका सबैजसो सांसद्हरुले दाहाललाई वधाइ दिए।
प्रधानमन्त्रीको दौडमा दाहाल एक्लो उम्मेद्वार थिए। एक्लो उम्मेद्वार भए पनि निर्विरोध नहुने व्यवस्थाका कारण व्यवस्थापिका संसद्मा बुधबार मतदान भएको हो। निर्वाचनमा दाहाललाई नेपाली काँग्रेस, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेकपा संयुक्त लगायतका दलका सांसद्ले भोट दिए। संसद्को दोस्रो ठूलो दल नेकपा एमाले, चौंथो ठूलो दल राप्रपा नेपाल र केही साना दलले भने दाहालको विपक्षमा भोट खसाले । सेतोपाटीमा समाचार छ ।