मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने सहमति सहित संविधान संशोधनको बिषयमा छलफल गरेर सरकार र मोर्चाबीच सिंहदरबारमा भएको वार्ता सकिएको छ ।
आज बिहान करिब डेढ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चा आवद्ध दलका अध्यक्षहरुसँग वार्ता गरेका हुन् । वार्तामा सरकारको प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए ।
प्रधानमन्त्रीको निर्वाचन अघि मधेसी मोर्चासँग माओवादी केन्द्र र कांग्रेसले ३ बुँदे सहमति गरेको थियो । त्यही सहमति कार्यान्वयनको बिषयमा आजको वार्ता केन्द्रित भएको वार्तामा सहभागी सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
मोर्चाको माग अनुसार मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने गरी आज मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइएको छ ।
यसैगरी, मधेस आन्दोलनमा भएको हिंसाको छानबिन गर्न न्यायाधीशको नेतृत्वमा समिति बनाउने बिषयमा पनि सहमति भएको छ । केही दिनभित्रै सरकारले यस्तो समिति बनाउने सहमति भएको रामसपाका महासचिव केशव झाले जानकारी दिए ।
मधेसी मोर्चाले उठाउदै आएको संबिधान संशोधनको बिषयमा पनि सरकार र मोर्चा दुवै आआफ्नो तर्फबाट तयारी गर्ने सहमति भएको छ । संविधान संशोधनको लागि गृह कार्य गर्न अनौपचारिक कार्यदल बनाएर काम गर्ने सहमति भएको झाले बताए । कान्तिपुरमा समाचार छ ।