एमालेले प्रादेशिक संरचना तयार गर्दै संयोजक र सहसंयोजकहरू तोक्यो

एमालेले आफ्नो प्रादेशिक संरचना तयार गर्दै त्यसका संयोजक र सहसंयोजकहरू तोकेको
छ । स्थायी समितिको मंगलबारको बैठकले प्रादेशिक कमिटीका संयोजक र सहसंयोजक कसलाई बनाउने
भन्ने लामो समयदेखिको आन्तरिक विवाद मिलाउँदै व्यक्ति तोकेको हो ।
 

संविधानअनुसार सात प्रदेशको काम गर्ने गरी एमालेले पार्टी संरचना निर्माण गरेको
हो । संविधानमा अञ्चल नहुने व्यवस्था जस्तै एमालेमा पनि अब अञ्चल कमिटीहरू रहने छैनन्
। अन्य दलहरूले पनि प्रादेशिक संरचना बनाउने घोषणा गरेका छन् । तर निर्माण गरिसकेका
छैनन् ।

सात वटा प्रदेशका संयोजकमा ३ जना अध्यक्ष केपी ओली र ४ जना नेता माधवकुमार नेपाल
समूहका छन् । त्यस्तै उपसंयोजकहरूमा ६ जना ओली र एकमात्र नेपाल पक्षका छन् । पार्टीभित्र
एकताबद्ध भएर जाने संकल्प गरेको यही बैठकले प्रदेशका संयोजक र उपसंयोजकहरू सहमतिमा
मिलाएको हो ।

प्रदेश १ को संयोजकमा सचिव भीम आचार्य र सहसंयोजकमा वैकल्पिक पोलिटब्युरो सदस्य
शेरधन राईलाई तोकिएको छ । त्यस्तै प्रदेश २ मा स्थायी समिति सदस्य सत्यनारायण मण्डललाई
संयोजक र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी सहसंयोजक तथा प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी
शाक्य संयोजक र पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीलाई सहसंयोजकको जिम्मेवारी दिइएको
एमालेले जनाएको छ ।

त्यस्तै प्रदेश ४ को संयोजकमा स्थायी समिति सदस्य किरण गुरुङ र पोलिटब्युरो सदस्य
गणेश तिम्सिना सहसंयोजक
, प्रदेश ५ मा
संयोजक उपमहासचिव विष्णु पौडेल
, वैकल्पिक पोलिटब्युरो सदस्य दलबहादुर राना सहसंयोजक तोकिएको छ । प्रदेश ६ को संयोजकमा
उपाध्यक्ष युवराज ज्ञवाली र पोलिटब्युरो सदस्य यामलाल कँडेल सहसंयोजक तथा प्रदेश ७
को संयोजकमा उपाध्यक्ष भीम रावल र वैकल्पिक पोलिटब्युरो सदस्य कर्ण थापा सहसंयोजक तोकिएका
छन् ।

संयोजकमध्ये शाक्य, ज्ञवाली, रावल र आचार्य
४ जना नेपाल पक्ष र पौडेल
, मण्डल, गुरुङ गरी ३
जना अध्यक्ष ओली पक्षका हुन् । त्यस्तै सहसंयोजकमध्ये राई
, अधिकारी, तिम्सिना, राना, कँडेल र थापा गरी ६ जना अध्यक्ष ओली पक्षका हुन् भने चौधरी एक जना मात्र नेपाल
पक्षबाट सहसंयोजक बनाइएको छ । प्रादेशिक कमिटीका सदस्यहरूमा सम्बन्धित क्षेत्रका केन्द्रीय
सदस्यहरू
, जिल्ला अध्यक्षहरू, राष्ट्रिय प्रतिनिधि
परिषद् सदस्यहरू र भ्रातृ संगठनका केन्द्रीय पदाधिकारीहरूलगायत रहनेछन् ।

स्थायी समिति बैठकले विगतमा पार्टी कामको जिम्मेवारी दिन बाँकी र विगत सरकारमा
मन्त्री रहेका नेतालाई पार्टी कामको जिम्मेवारी दिएको छ । उपमहासचिव घनश्याम भुसाललाई
प्रवास क्षेत्रको सम्पर्क
, समन्वय र नेतृत्व तथा महेन्द्रबहादुर पाण्डेलाई युवा फाँट इन्चार्जको जिम्मेवारी
दिइएको सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै लालबाबु पण्डितलाई राजकीय मामिला
विभागको प्रमुख
, राधा ज्ञवालीलाई
महिला फाँट इन्चार्ज
, अग्नि खरेललाई
स्थानीय विकास विभाग प्रमुख र हरि पराजुलीलाई किसान फाँटको सहइन्चार्जको जिम्मेवारी
दिइएको छ । कान्तिपुरमा समाचार छ ।