बागबजारमा व्यापारीसाग जबर्जस्ती चन्दा उठाएको अभियोगमा आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आन्दोलनको घोषणा गरेको छ ।
बागबजारमा व्यापारीसाग जबर्जस्ती चन्दा उठाइरहेको बेला महानगरीय प्रहरी वृत्त सिंहदरबारले चन्दा रसिदसहित माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद शिवराम यादव, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवार बुधबार पक्राउ परेका थिए ।
माओवादीका पूर्व लडाकुको नेतृत्वमा रहेको माओवादी कम्युनिष्ट केन्द्रले चन्दा असुल्न बम ११ वटा विद्यालयमा बम राखेर आतंक मच्याएपछि प्रहरीले उपत्यकामा प्रहरी परिचालन बढाएको थियो ।
बुधबार केही व्यक्तिले माओवादीको नाम लिएको सूचनाको आधारमा बागबजार पुगेको प्रहरीले पसलमा जबर्जस्ती चन्दा मागिरहेको अवस्थामा यादवसहितलाई पक्राउ गरी चन्दा ऐन अनुसार कारवाहीका लागि हिरासतमा राखेको छ ।
वैद्य माओवादीले विज्ञप्तीमार्फत झुट्ठा मुद्दा लगाउने उद्देश्यले सरकार दमनमा उत्रिएको भन्दै चक्काजाम, सिट्ठी जुलुश र उपत्यका बन्दको घोषणा गरेको हो ।
कंलकीस्थित क्याम्ब्रिज कलेजमा सामना परिवारको १० हजार दरको ४ वटा टिकट सहित पुगेका नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका प्रमोद गिरी र महेन्द्र तामाङ पक्राउ परेका थिए ।
पक्राउ परेका ६ जनालाई जबर्जस्ती चन्दा असुल्ने प्रयास गरेको अभियोगमा अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।कान्तिपुरमा समाचार छ ।