लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले देशैभरि दीपावलीको माहोल : शेरबहादुर देउवा

     
     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले देशैभरि दीपावलीको माहोल बनेको बताएका छन्।


बिहीबार सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति देउवाले कार्कीविरुद्धको यस्तो वातावरण उनकै कार्यशैलीको उपज भएको टिप्पणी गरे। बैठकमा बोल्ने अधिकांश सदस्यले सत्तासाझेदार माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट दर्ता भएको महाअभियोग प्रस्तावबारे सभापतिको धारणा माग गरेका थिए। जबाफमा देउवाले यस विषयमा प्रधानमन्त्रीले आफूसँग कुनै छलफल र सहमति नगरेको बताए।


एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दाहाल र आफूसँग कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे कुरा गरे पनि बुधबारै दर्ता गर्ने जानकारी नदिएको उनले प्रस्ट पारे। कुरा भएको हो, तर हामी आजै प्रस्ताव दर्ता गर्दैछौं भनेर प्रधानमन्त्रीले सत्तासाझेदार दलसँग भन्नुभएन, यसमा उहाँहरूको राजनीतिक इमानदारी देखिएन,  बैठकमा देउवाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापाले संवाददाताहरूसँग भने।


माओवादी केन्द्र र एमालेका १ सय ५७ सांसदले बुधबार दर्ता गराएको महाअभियोग प्रस्तावलगत्तै कार्की निलम्बन भएपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको हो। पूर्वनिर्धारित यो बैठकमा संविधान संशोधन, राज्य पुनःसंरचना र पार्टी संगठनको विषयलाई मुख्य र लोकमानविरुद्धको महाअभियोगलाई विविध एजेन्डाका रूपमा राखिएको थियो।


मलाई तत्कालीन शाही आयोगले अपवित्र र निरंकुश शैलीमा दुःख दिएझैं लोकमान सिंह कार्कीले पनि अख्तियार प्रमुखको पदीय मर्यादा दुरुपयोग गर्दै मानिसहरूलाई दुःख दिने, धम्क्याउने गर्दै आएका थिए,  बैठकमा देउवाको भनाइ उद्धृत गर्दै थापाले भने।


कार्कीको नियुक्ति प्रक्रियाकै बेला आफूले उनी शाही शासनको समर्थक रहेको भन्दै प्रश्न उठाएको उल्लेख गर्दै देउवाले भने,  उनले शाही शासनकै बेला मलाई दुःख दिएका हुन्। यही आधारमा मैले उनलाई अख्तियार प्रमुख बनाउनु हुन्न भनेको थिएँ, तर पछि कस्तो अवस्था आयो भने मैले उनलाई हुन्छ भनेर स्वीकार्न नसक्ने र हुन्न भनेर रोक्न नसक्ने अवस्था बन्यो।


उनी अख्तियार प्रमुख छँदा पनि मैले पटक पटक कार्कीलाई भेटेर सम्झाएको हुँ,  देउवाको भनाइ उद्धृत गर्दै थापाले भने, उनले आफ्नो विरोधमा कोही लाग्यो भने मुद्दा उल्ट्याइदिने धम्की दिएर तर्साउने गरेका थिए।
महाअभियोग प्रस्ताव दर्तापछि उनीविरुद्ध एक खालको वातावरण बनेको उल्लेख गर्दै सभापति देउवाले यस विषयमा पार्टीभित्र खुला छलफल गरेर के कसरी अघि बढ्ने भनी निर्णय गर्नुपर्ने बताए।


गृहमन्त्री विमलेन्द्र निधिले महाअभियोगबारे माओवादी केन्द्रकै धारणा प्रस्ट नभएको टिप्पणी गर्दै यसबारे सरकारभित्र कुनै छलफल नभएको उल्लेख गरे।

थापाले भने छलफल भए नभएको तपसिलका कुरा भएको बताए। राष्ट्रिय राजनीतिक दलहरूले लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति गरेर गम्भीर राजनीतिक भुल र अपराध गरेका थिए, अहिले यो भुललाई चोख्याउने अवसर आएको छ, उनले भने, लोकमान आफ्नो कर्म र आचरणले पनि त्यो पदका निम्ति योग्य छैनन्। त्यसैले, हामीले यो वा त्यो बहाना बनाउने होइन, केन्द्रीय समितिमार्फत् संसदीय दलको बैठक बसाएर यो प्रस्तावको पक्षमा उभिने निर्णय गर्नुपर्छ। कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहनेछ।

सेटोपाटीबाट