नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने: माधवकुमार नेपाल

      

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको राजनीतिक समस्या समाधानमा
कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताउनुभएको छ । साझा प्रकाशनद्वारा
प्रकाशित साहित्यकार राम विनयको कथाकृति घर बिनाको घर
को आज यहाँ लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु
स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न चाहने भएकाले उनीहरुले आफ्ना समस्या
समाधानका अरुको दबाब
, धम्की, हस्तक्षेप र अनुचित चासो मन नपराउने उल्लेख गर्नुभयो ।

मुलुकमा अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब देश आर्थिक क्रान्तितर्फ
लाग्नुपर्छ
, स्रष्टाहरुले त्यसलाई सहयोग पुग्ने गरी साहित्यिक सिर्जना गर्नुपर्छ,पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।
नेता नेपालले साझा प्रकाशनको पुल्चोकको जग्गा लिलामीमा जाने
खतरा आउन नहुने जनाउँदै यसलाई राज्यले बचाउनुपर्ने र व्यवस्थापनले बजारको
प्रतिस्पर्धालाई ध्यान दिएर कुशलता देखाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल
प्रज्ञा
प्रतिष्ठानका
कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनलाई बचाउन आफूहरुका तर्फबाट पनि पहल
भइरहेको बताउँदै यसलाई सरकारले अनुदान दिने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यको जगेर्नाका लागि राजनीतिक
नेतृत्व र सरकारलाई संरक्षणको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । समालोचकद्वय
डा दयाराम श्रेष्ठ र जगत् उपाध्यायले विनयका कथामा सामाजिकता र प्रगतीशिलता पाइने
बताउनुभयो ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रधानमन्त्री
पुष्पकमल दाहालको प्रतिबद्धताबमोजिम ऋण र अनुदान गरी संस्थालाई रु ४० करोड प्राप्त
भएमा लिलामीबाट जोगाउन सकिने बताउनुभयो । यसअघि कविता र नियात्रा विधामा पुस्तक
प्रकाशन गर्नुभएका विनयको यो पहिलो कथाकृति हो । रासस