संशोधनको नाममा राष्ट्रियतामा आँच पुग्ने कुनै कुरामा एमाले सहमत हुदैन : झलनाथ खनाल
कार्तिक २२ गते, २०७३ मा प्रकाशित
पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनको नाममा राष्ट्रियतामा आँच पुग्ने कुनै कुरामा एमाले सहमत नहुने बताएका छन् । उनले अंगिकृत नागरिकता लिएको नागरिक संवैधानिक आयोग लगायतका उच्च ओहदा पुग्न पाउनु पर्ने, मधेश र पहाडभन्दै दुईवटा राज्य बनाउने र जातजातीको नाममा आगो सल्काउने जस्ता माग एमालेलाई स्विकार्य नभएको स्पष्ट पारे । नेपाल भ्रमणका क्रममा भारतका राष्ट्रपती प्रणव मुखर्जीले नेपालको संविधान संशोधन गर्न लगाउनु क्षेत्राधिकार भन्दा बाहिर गएर बोलेको टिप्पणी खनालले गरे ।
नेपालको संविधान कस्तो बनाउने ? कहाँ संशोधन गर्ने ? नेपाली जनताको आन्तरिक मामेला भएको र नेपालको आन्तरिक कुरामा मुखर्जीले हस्तक्षेप गर्न नहुने खनालले बताए ।
प्रेस चौतारी रुपन्देहीद्वारा आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले देशको बस्तुस्थिती र आवश्यकता नबुझेर मधेशी मोर्चाका नेताले अंगिकृत नागरिकलेपनि संवैधानिक आयोगमा बस्न पाउनुपर्ने र पहाड र मधेशको नाममा अलग अलग राज्य हुनुपर्ने माग राख्ने गरेको आरोप लगाए ।
समाजवाद, लोकतन्त्रको स्थायित्व, राष्ट्रियता र मुलुकको अखण्डता जोगाउने कुरामा एमाले जुनसुकै पार्टीसँगपनि सहकार्य गर्न तयार छ, खनालको भनाई थियो, अंगिकृत नागरिकता प्राप्त गरेको नागरिक संवैधानिक आयोगमा बस्न पाउनु हुँदैन । यो हाम्रो राष्ट्रियताको पक्ष हो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेता खनालले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्ती गर्ने राष्ट्रिय सहमति दुर्भाग्यपुर्ण सहमति भएको बताए ।