प्रहरी बिटमा स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते (भिडियो सहित)

काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित नयाँबस्तीमा रहेको प्रहरी बिटमा आइतबार स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
मदिरा सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु भएको भन्दै स्थानीयबासीले नयाँबस्तीको महानगरीय प्रहरी बिटमा अन्धाधुन्द आक्रमण गरेका हुन् । आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा रहेको प्रहराको चारओटा मोटरसाइकलमा आगजनी गर्नुका साथै बिटमा रहेका प्रहरीमाथि पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका थिए ।
साथै, उनीहरुले ड्युटीमा रहेका प्रहरीमाथि लाठी प्रहार गर्दा केही प्रहरी घाइते भएका छन् । असई विद्याधर चौधरीको नेतृत्वमा सातजनामात्र प्रहरी सो बिटमा रहेकोमा स्थानीयको आक्रमणबाट सई सन्दीप नापितको नाक भाँचिएको छ ।
अन्धाधुन्द आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन् । आक्रमणले उग्ररुप लिएपछि घटनास्थलमा पुगेका अरु प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । चौकी आक्रमणमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए ।
स्थानीयको आक्रमणपछि थप प्रहरी घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति बढी भएको बताइएको छ । घटनापछि नयाँबस्ती प्रहरीचौकीमा थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।