एमालेसहितका विपक्षी दलहरुद्वारा सत्ता पक्ष उदण्ड बन्दै गएको भन्दै अब चूप लागेर नबस्ने चेतावनी

नेकपा एमालेसहितका विपक्षी दलहरुले सत्ता पक्ष उदण्ड बन्दै गएको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका छन् ।
आज दिउँसो सिंहदरबारमा संयुक्त पत्रकार सम्मेलन गर्दै विपक्षीहरुले सत्ता पक्षले विपक्षीलाई धम्क्याउने, लल्कार्ने र जनतामा जान नदिने काम गरिरहेको आरोप लगाए ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका अभिब्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्वतर्फ लैजानेखालका भएको आरोप लगाए । शान्तिपूर्ण आन्दोलनलाई वितण्डा भनेर उत्तेजक बनाउने काम प्रधानमन्त्रीले गरिरहेको ओलीको भनाइ थियो ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रिय हित विपरित रहेकाले आफूहरुले त्यसलाई रोकेको भन्दै ओलीले सोे विधेयक संसदमा पेश नहुने र पास पनि नहुने दाबी गरे ।
संविधान कार्यान्वयन गर्न छाडेर प्रधानमन्त्री दाहाल खल्तीमा कैंची र सलाई बोकेर उद्घाटन्मा कुदिरहेको उनको आरोप थियो ।
एक थान हेलिकप्टरमा एक झुण्ड मानिस लिएर कहिले गुरिल्ला ट्रेल त कहिले द्वन्द्वकालमा दुई दिन बसेको घरको रिबन काट्न प्रधानमन्त्री दौडिएको भन्दै ओलीले आक्रोश पोखे ।
पत्रकार सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भारतको ईशारामा संविधान संशोधन प्रस्ताव आएको भन्दै त्यसलाई कुनै हालतमा पास हुन नदिने प्रतिवद्धता ब्यक्त गरे ।
संशोधन विधेयक विरुद्ध रहेका नौ दलमा एमाले, नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा, परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, बहु जनशक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेस समता पार्टी रहेका छन् । यी दलहरुले यही पुस २२ गते राजधानीमा विरोध प्रदर्शन र सभा गर्ने तयारी गरिरहेका छन् । इमेजखबरमा समाचार छ ।