प्रधानमन्त्री पुष्पकलम दाहालले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति सबै राजनीतिज्ञहरु खुशी भएको बताएका छन् ।
११ औं चितवन महोत्सवको नारायणी किनारमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सर्वोच्चको फैसलाभन्दा केही घण्टा अघि मात्र महाअभियोगको प्रस्तावलाई सर्वसम्मत रुपले सिफारिस समितिमा पठाएको हुनाले आफूहरुको इज्जत बचेको बताए ।
कांग्रेसले महाअभियोगबारे निर्णय त गरेको छैन । तर प्रक्रियालाई अगाडि बढाउन उसले पनि समर्थन गरेर सर्वसम्मत रुपले महाअभियोग अगाडि बढाई सिफारिस समितिमा पठाएका थियौं, दाहालले भने , हामीले समितिमा पठाएको केही घण्टा पछि नै सर्वोच्चबाट कार्की पदमुक्त भएको निर्णय आयो । यो सबै राजनीतिज्ञहरुको निम्ति खुशीको कुरा भयो ।
आइतबार यदी सदन नखुल्ने र सर्वोच्चले हटाइएको निर्णय गरेको भए राजनीतिज्ञहरुका निम्ति थोरै नमिठो हुने उनको तर्क थियो । राजनीतिज्ञहरु पछि परे । उनीहरु अगाडि बढ्न सकेनन भन्ने हुन्थ्यो, उनले भने, हामीले हिजै महाअभियोगको प्रस्तावलाई सर्वसम्मत रुपले सिफारिस समितिमा पठाएको हुनाले हाम्रो इज्जत चाँही बच्यो । सर्वोच्चलाई फैसलाका लागि धन्यवाद दिन चाहन्छौं ।
उनले अब सदन भित्र अरु टेन्सन नभएको र निर्वाचन विधेयक पारित गर्ने, संशोधन प्रस्तावलाई एउटा टुंगोमा पुर्याउने र निर्वाचनतिर जाने बाटो खुलेको दाबी समेत गरे ।
हिजोबाट सदन खुलाइएको छ । म आफैं सदनमा उपस्थित भएर धेरै मेहेनत गरी सदन खुलाएको हो, उनले भने, थोरै/थोरै विरोधकाबीच चिजहरुलाई अघि बढाइएको छ । उनले आजका पत्रपत्रिकामा आफ्नो र एमाले अध्यक्ष केपी वलीबीच मन्त्रण भएर सदन खुलेको कुरा उल्लेख गरेको भएपनि त्यस्तो नभएको उनले दाबी गरे ।
मन्त्रण त त्यस्तो केही होईन, उही एग्रि टु डिस एग्री त पक्कै हो, उनले भने, यसरी भएपनि अगाडि जाउँ यो अवरोधको स्थितिमा देशलाई नराखौं भन्ने कुरामा एउटा समझदारी भएकै हो । त्यसकारण सदन खुलेको हो ।
उनले अब निर्वाचन विधेयकहरु छिटोभन्दा छिटो पारित गरी संसदिय प्रक्रिया पुरा गरेर पारित गर्ने प्रक्रियामा अघि बढ्ने बताए ।
कान्तिपुरबाट